रामेछापमा वैशाखे झरीको बितण्डा

 बैशाख ३१, २०७५ सोमबार १२:०:१४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप, वैशाख ३१ – सोमबार बिहान संचालन हुने कक्षा ११ को परीक्षा दिन मन्थलीबाट मुगिटारतर्फ जाँदै गरेका विद्यार्थीलाई स्थानीय रणजोर खोलाले बगाउँदा एकजना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा मन्थली नगरपालीका वडा नं–१ की १८ वर्षीया उष्मा फुयाँल रहेकी छन् । 

पानी पर्दै गरेको समयमा घरवाट मन्थली नगरपालिका–७ मा अवस्थित रुद्राक्षेश्वर मावि मुगिटार परीक्षा केन्द्रमा परीक्षा दिन हिँडेका परिक्षार्थीहरुमध्ये ६ जनालाई तामाकोशी नदी किनार नजिकै रणजोर खोलाबाट हात समाएर खोला तर्ने क्रममा  खोलाले बगाएको थियो ।

बगाएकामध्ये तामाकोशी किनारमा पुगेपछि ५ जना कोशी किनारबाट निस्कन सफल भएका थिए । उनीहरुमध्ये दुईजना सामान्य घाइते भएका छन् भने अन्य तीन जनाको अवस्था सामान्य रहेको छ । घाइते दुईजनाको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

वर्षाले रणजोर खोला र मन्थली आसपासका खहरेहरुमा बाढी आएको थियो । अव्यवस्थित तरीकाले खनिएका सडकबाट माटो र गेगर बगाएर मन्थली बसपार्क, भैश्वेवर चोक, ट्राफिक चोक र आकाशे एरियाका घरहरुमा पानीले बगाएर ल्याएको गेगर र हिलो पसेर अस्तव्यस्त भएको छ ।

बाढीले सबैभन्दा बढी असर मन्थली बसपार्क क्षेत्रमा पुगेको छ । बसपार्क र यत्रतत्र पार्किङ्ग गरि राखेका बस, मालवाहक गाडी र मोटरसाइकलमा समेत क्षति पुगेको छ । 

यसैगरी देवकोटा चोकबाट बसपार्कको बीचमा पर्ने जिल्ला आयुर्देद स्वास्थ्य केन्द्र र मन्थली गेटबीचका खहरे खोला र खोल्साका नजिकैको सडक समेतमा क्षति पुगेको छ । गेगरले पुरेकामध्ये सबैभन्दा चल्तीको भैश्वेश्वर चोकमा जम्मा भएको गेगरलाई स्काइभेटर लगाएर हटाइएको छ ।

 

बाढी प्रभावित बसपार्क क्षेत्रमा पुरिएका गेगर र हिलो समेत पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । 

 

सडक अवरुद्ध

वर्षाका कारण मन्थलीदेखि काठमाण्डौंतर्फ जाने र मन्थलीबाट दोलखा तथा मन्थलीबाट ग्रामिण क्षेत्रतर्फ जाने धेरै सडक समेत अवरुद्ध भएका छन् । बाढीले पुष्पलाल राजमार्ग अन्तर्गत मन्थलीबाट करिव १३ किलोमिटर टाढाको सेलेघाट बजार क्षेत्रको सडक समेत अवरुद्ध हुँदा काठमाडौं ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् । सडक खुलाउने काम  भैरहेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

भूकम्प पीडित मारमा

बाढीका कारण भूकम्प पीडिढत पूर्णरुपमा प्रभावित भएका छन् । निर्माणाधीन घरका लागि तयारी अवस्थामा राखिएको गिट्टी, ढुङा, वालुवा र ईट्टा समेत पुरिएको र बगाएको छ । पीडित बस्दै आएका अस्थायी टहरामा समेत पानी पसेको छ । 

 

अहिले वर्षा रोकिएको भए पनि मौसम बदली भएका कारण जुनसुकै बेला पनि पानी पर्ने सम्भावना बढेपछि प्रभावितहरु चिन्तित छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया