आठौं राष्ट्रिय खेलकुद फेरि अनिश्चित

 फागुन ४, २०७५ शनिबार १९:४१:३६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - राष्ट्रिय खेलकुद परिषदले दोश्रो पटक तोकेको मितिमा पनि प्रतियोगिता हुन नसकेपछि नेपालगञ्जमा हुने भनिएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अनिश्चित भएको छ ।

गएको मंसीरमा तोकिएको प्रतियोगिता तयारी नपुगेको भन्दै माघ २५ देखि फागुन ३ गतेसम्म मिति तोकिएको थियो । पछिल्लो मिति समाप्त भइसके पनि  प्रतियोगिताको नयाँ मिति तय नभएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिनुभयो ।

 प्रतियोगिता सञ्चालन गर्ने भनिएको मिति नाघिसक्दा बल्ल प्रदेशस्तरीय खेलाडी छनौट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन तथा मुख्य खेलस्थल नेपालगञ्ज रङ्गशालामा अहिले भीआईपी प्याराफिट तथा मैदान निर्माण कार्य चलिरहेको छ ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष वलीले भीआईपी प्याराफिट नेपालगञ्ज पुगेपछि मात्रै परिषदले नयाँ मिति तय गर्ने जानकारी दिनुभयो । भीआईपी प्याराफिट भारतको कलकत्ताबाट अबको १०-१२ दिनमा नेपालगञ्ज पुग्छ ।

भीआईपी प्याराफिट नेपालगञ्ज पुगेपछि फिटिङ्गका लागि २-३ हप्ता समय लाग्ने जानकारी अध्यक्ष वलीले दिनुभयो । यसैगरी मैदानमा बर्मुडा दुबो लगाउने कार्य अझै जारी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया