धमाधम सबस्टेसन निर्माण र स्तरोन्नति गर्दै विद्युत प्राधिकरण

 फागुन १०, २०७५ शुक्रबार ११:१७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।

लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन यो आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणले जनाएको छ ।  

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन् । प्राधिकरणले  एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । ३ दिनको बीचमा निमाण सम्पन्न भएका पाँच वटा सबस्टेसनको उद्घाटन गरिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गर्नुभएको थियो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । मन्त्री पुनले बिहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न भएका १३२/३३ केभी सबस्टेसनको उद्घाटन गर्नुभएको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका मन्त्री पुनले आगामी दिनमा देशभित्र उत्पादित विद्युतलाई स्वदेशमै गराउने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं स्तरोन्नति अभियानकै रुपमा संचालन भइरहेको बताउनुभयो । ‘विगतमा विकराल लोडसेडिङका कारण हामी अँध्यारोमा थियौँ, अहिले लोडसेडिङ अन्त्य भई उज्यालो हुँदा रमाइरहेका छौँ, अब यसैमा रमाउने मात्रै हैन विद्युत खपत बढाउन उद्योग कलकारखाना खोल्नतर्फ लाग्नु पर्छ’, उहाँले भन्नुभयो । ‘अहिले बिजुली दिनुहोस् भन्ने जनताको माग छ, अब यसको अन्त्य भई बिजुली पर्याप्त खपत गरी उत्पादन बढाई जीवनयापनमा सुधार गर्नुहोस् भन्ने अवस्था आउँदैछ, यसका लागि विद्युत प्रसारण तथा वितरणका संरचना पनि त्यसैअनुसार बनाइरहेका छौँ ।’ 

प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न आग्रह गर्दै मन्त्री पुनले भन्नुभयो, ‘समयमै सक्नेलाई पुरस्कृत र नगर्नेदाई दण्डित गर्ने छौँ, काम गर्नेलाई निर्माण कार्य छानी छानी दिने र त्यस्ता कम्पनीबीच नै ठेक्का प्रतिस्पर्धा गराउने छौं ।’

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सब स्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब स्टेसन बनाउने लगायतका काम गरिरहेको छ । 

निजी लगानीको सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत लाइन विस्तार गर्ने सरकारी नीतिअनुरुप निर्माण गरिएको कुसुक (बाँके)–हापुरे (दाङ) १३२ केभी प्रसारण लाइन र १३२/३३ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ४३ करोड रुपैयाँ लगानी गरी निर्माण गरिएको आयोजनाबाट दाङमा सञ्चालनमा रहेका र स्थापना हुने सिमेन्ट उद्योगले पर्याप्त विद्युत पाउने भएका छन् भने आम उपभोक्ताले गुणस्तरीय विद्युत प्रयोग गर्न पाउने भएका छन् । 

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत वितरण प्रणाली सुधार तथा विस्तारमा रहेको बताउनुहुन्छ, ‘यसबाट विद्युत्को पहुँच बढ्ने छ, विद्युत आपूर्तिमा सुधार भई उपभोक्ताले गुणस्तरीय र विश्वसनिय विद्युत सेवा उपभोग गर्न पाउने छन् र उद्योगलाई पर्याप्त विद्युत उपलब्ध गराउन सक्नेछौँ ।’ 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउन र विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन सबस्टेसन निर्माण तथा स्तरोन्तिको काम देशभरी चलिरहेको जानकारी दिनुभयो । ‘हामीले चलाएको अभियानबाट एकातर्फ  चुहावट प्राविधिक चुहावट नियन्त्रण र भोल्टेजमा सुधार हुने छ भने अर्कोतर्फ उपभोक्तालाई मागेजति विद्युत दिन सकिनेछ’, उहाँले भन्नुभयो । 

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत आपूर्तिका लागि देशभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । 

प्राधिकरणले जनकपुर, हेटौँडा, चितवन, भैरहवालगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेको छ । 

यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सजिलो हुनेछ भने अर्कोतर्फ ट्रिपिङ हुनेलगायतका समस्या समाधान गरी नियमित विद्युत आपूर्ति हुने छ । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया