रानीपोखरी पुननिर्माण : खर्च बढी, काम शून्य

 असार ९, २०७५ शनिबार १५:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानी पोखरीको पुनर्निर्माण हुन सकेको छैन ।

रानी पोखरी पुनर्निर्माणको नाममा झण्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ । तर अहिलेसम्म पुनर्निर्माणको काम भने सुरु हुन सकेको छैन । संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदुरदर्शी निर्णयका कारण झण्डै ३ करोड रुपैयाँ नोक्सानी भएको छ ।

१८ महिना अघिदेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामाग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाइएको आधुनिक कंक्रिड पर्खाल भत्काइएको छ ।

रानी पोखरीको बाहिरी घेरामा कंक्रिड वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । आधुनिक शैलीमा बनाउदा रानी पोखरीको पुरातात्विक  र परम्परागत पुरानो शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि पर्खाल भत्काइएको थियो । पर्खाल भत्काउन र कंक्रिडहरु हटाउन महानगरले १६ लाख रुपैयाँमा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले  ९५ प्रतिशत काम सकिएको बताएको छ ।

रानी पोखरी पुनर्निर्माणका लागि महानगरपालिकाले वल्डवाइड कँडेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो । पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि त्यो कम्पनीले क्षतिपूर्तिको माग गर्दै महानगरपालिका विरुद्ध मुद्धा दायर गरेको छ  ।

त्यो मुद्धा अहिले पनि विचाराधिन छ । आधुनिक पर्खाल भत्काएर त्यसलाई सफा गर्ने काम केही दिन भित्र सम्पन्न भए पनि त्यसपछिको पुनर्निर्माण के कसरी गर्ने भन्ने स्पष्ट नीति नभएका कारण रानीपोखरीको पुनर्निर्माण कहिले बन्ने भन्ने जिज्ञासा यथावत रहेको छ । जिम्मेवार निकायको अपरिपक्क र अदुरददर्शी निर्णयका कारण ठूलो रकम पानीमा गएको छ ।

यसैबीच पोखरीको बीच भागमा रहेको बालगोपालेश्र मन्दिर भने राणाकालिन शैलीमा पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको छ । यद्यपि मन्दिरको पुनर्निर्माणको काम पनि सन्तोषजनक ढंगले अघि बढ्न भने सकेको छैन । स्थानीयबासी र विज्ञले मल्लकालिन शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग गर्दे आएका छन् ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया