नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
सिन्धुपाल्चोक – २०७२ सालको भूकम्प र २०७३ सालको असारमा भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी अझै बन्द छ । भूकम्प र बाढीले कोदारी नाका र तातोपानी क्षेत्रका धेरैजसो घर ध्वस्त भए । सयौँ घर ध्वस्त हुँदा त्यहाँबाट बासिन्दा विस्थापित भए ।
अहिले भने तातोपानी नाका खुुलाउन चिनियाँ र नेपाली पक्षबाट काम भैरहेको छ । चीन र नेपालबीच आउँदोे मे १ तारिख (वैशाख १८) मा नाका खुलाउने औपचारिक सहमतिपछि चीनले द्रुत गतिले काम गरिरहेको छ । तर नेपाली पक्षको कामले गति नलिँदा समस्या हुने देखिएको छ ।
चीनको काम फटाफट, स्थानीय भन्छन् : काम होस् त यस्तो
भूकम्प र नाकाबन्दीले कोदारी नाका र तातोपानी क्षेत्रको बजार तहसनहस भयो । त्यहाँ मानिस बस्नै सक्ने अवस्था थिएन । बजार, बन्दरगाह र मितेरी पुल पनि बाढीले बगायो । त्यसपछि नेपाल सरकारले चीनसँग पटक पटक नाका खोल्न आग्रह गर्यो ।
तर चीनले सुरक्षाको कारण भन्दै नाका खुलाउन मानेन । तर गएको दशैँपछि भने चीन नाका खोल्न सकारात्मक भयो । नेपालले चीनलाई मितेरी पुल, सुख्खा बन्दरगाह र बाह्रबिसेसम्मको सडक बनाइदिन आग्रह गर्याे । चीनले नेपालको प्रस्ताव स्वीकार गर्याे र काम सुरु गरिहाल्यो ।
चीनले मंसिरदेखि ३ वटा योजनाको काम थालेको छ । उसले रातदिन नभनी काम गरिरहेको छ । ‘रातदिन नभनेर उनीहरुले काम गरिरहेका छन्, चाहे मितेरी पुल होस्, चाहे सुख्खा बन्दरगाहको काम होस्, चिनियाँ तर्फबाट सबै काम तीव्र गतिमा भैरहेको छ’, सीमा सुरक्षा बल कोदारीका प्रहरी निरीक्षक उदयराज न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो ।
मितेरी पुल : कामदार सबै चिनियाँ, काम तीव्र
नेपाल र चीन जोड्ने भोटेकोशीमाथिको मितेरी पुल पनि भूकम्प र बाढीले ध्वस्त बनायो । अहिले चीनले मितेरी पुल निर्माण गरिरहेको छ । चीनको तियान सुन सडक तथा पुल कम्पनीले २ करोड ६० लाख युआनको लागतमा मितेरी पुल बनाइरहेको छ ।
पुल बनाउन दैनिक १ सय जना चिनियाँ कामदार खटिएका छन् । गएको मंसिर २१ गते निर्माण सुरु भएको पुल वैशाख १७ गतेभित्रै सक्ने योजना छ । अहिलेसम्म ३० प्रतिशत भन्दा धेरै काम सकिएको छ ।
सुख्खा बन्दरगाह : लगभग काम पूरा
१ सय ८२ वटा कन्टेनर पार्किङ गर्न मिल्ने र धेरै कार्यालय राख्न मिल्ने गरी सिन्धुपाल्चोकको लार्चामा चीनले सुख्खा बन्दगाह बनाइरहेको छ । १२ करोड ७० लाख युआन लागतमा चीनले यो बन्दरगाह बनाइरहेको हो । यसको ८५ प्रतिशत काम सकिएको छ । बन्दगाहमा ५० जना चिनियाँ र एक सयजना नेपाली कामदारले काम गरिरहेका छन् ।
‘नेपालले निर्माण गरेको भए यो बन्दरगाह बनाउन कम्तीमा ३ वर्ष लगाउँथ्यो होला, तर उनीहरुले ४ महिनामा काम सक्न थाले, हामीलाई त अचम्म लागेको छ’, लार्चामा भेटिएका बुद्ध तामाङले भन्नुभयो ।
कोदारी–बाह्रबिसे सडक : दर्जनौँ डोजर, सयौं कामदार
कोदारीदेखि बाह्रबिसेसम्मको सडक पनि चीनले नै मर्मत गरिदिने भएपछि उसले यो काम पनि तीव्र बनाएको छ । गएको मंसिरमा सुरु भएको काम अहिले ६० प्रतिशत भन्दा धेरै सकिएको छ । ठाउँ ठाउँमा नदीदेखि नै पर्खाल लगाउनुपर्ने, धेरै तार जाली भर्नुपर्ने र कतिपय ठाउँमा नयाँ ट्रयाक नै खोल्नुपर्ने भए पनि चीनले काम तीव्र बनाएको छ ।
दर्जनौँ डोजर, एक्स्काभेटरलगायतका मेसिन तथा २ सय ५० जना नेपाली कामदार र ५० जना चिनियाँ अहिले सडक मर्मतमा लागेका छन् । भौगोलिक हिसाबले निकै संवेदनशील मानिएको सडकमा चिनिया पक्षले तीव्र गतिमा काम अघि बढाएको छ । ६ करोड ७७ लाख ५० हजार युआन खर्च लाग्ने यो सडक पनि वैशाखको मध्यअघि नै सक्ने उनीहरुको योजना छ ।
कोदारी बाह्रबिसे सडक चीनले ग्राभेलिङ स्तरको गर्ने भए पनि कालोपत्रे चाहिँ नेपालले नै गर्नुपर्नेछ ।
नेपालले बनाउनुपर्ने सडकको ठेक्का नै भएन
कोदारीदेखि बाह्रबिसेसम्मको सडक चीनले बनाइदिने भए पनि बाह्रबिसेदेखि बनदेउसम्मको सडक भने नेपालले नै बनाउने सहमति भएको छ । अहिले धेरै ठाउँमा एक लेनको कच्ची सडक छ । चीनसँगको नाका खुलेपछि धेरै लोड बोकेर चीनबाट आएका कन्टेनरको लागि राम्रो सडक बनाउनुपर्छ, तर अहिलेसम्म नेपालले त्यो काम सुरु नै गरेको छैन । जुरेको पहिरो, लामोसाँघुमा भासिएको सडक, खाडीचौरनेरको कोठे पहिरोलगायतका ठाउँ निकै संवेदनशील छन् ।
यो सडक हेर्ने डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र कुमार झाका अनुसार १२ करोड रुपैयाँ दरले ३ वटा प्याकेज बनाएर काम गर्ने योजना बनेको छ । एउटा प्याकेजको ठेक्का लागेर काम सुरु भैसकेको छ भने बाँकी २ वटा खण्डको ठेक्का नै लागेको छैन ।
‘एउटा प्याकेजको लागि सम्झौता भएर काम पनि सुरु भैसकेको छ, तर बाँकी दुई वटा प्याकेजको लागि अब छिटै सम्झौता हुँदैछ, काम सुरु भएका ठाउँमा चाहिँ तीव्र गतिमा काम भैरहेको छ’, झाले भन्नुभयो ।
जुरे र कोठेको पहिरोको कामका लागि केही दिनमै ठेक्का सम्झौता भएर सुरु हुने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।