भोजपुरमा कृषकको लाखौँ रकम उठाएर भाग्यो कर्णाली एग्रिकल्चर

 फागुन १४, २०७५ मंगलबार १३:८:४४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – फलफूल तथा विरुवा दिने शर्तमा कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालले जिल्लाका २५ सय कृषकको लाखौ रकम उठाएर फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने शाखा कार्यालयको रुपमा दर्ता भएको संस्थाले कृषकसँग ३ सयका दरले करिब ७ लाखभन्दा बढी रकम संकलन गरेर सम्पर्कविहीन भएको हो । 

एग्रिकल्चरले गएको भदौ ५ गतेबाट नियुक्ति दिएका कर्मचारीलाई तलब नदिएपछि कर्मचारीकोसमेत विचल्ली भएको छ । कर्मचारीहरुले गाउँ–गाउँ गएर विभिन्न जातका फलफूल तथा रुखका विरुवा दिने सर्तमा उक्त रकम संकलन गरेका थिए । रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी उत्तराज खड्काले बताउनुभयो । 

संस्थाले भोजपुर नगरपालिका–७ सातधारामा कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना गरेपछि कर्मचारी भर्ना खुलाएरसमेत रकम संकलन गरेको संस्था अहिले बन्द रहेको छ । संस्थाले अर्गानिक खेती, वन संरक्षणसम्बन्धी जन चेतनामुलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका विउविजनहरु उत्पादन, वजार व्यवस्थापनसम्बन्धी सहजीकरण जस्ता विभिन्न कार्यक्रमसमेत गर्ने बताउँदै काममा पठाएको कर्मचारीहरुले बताएका छन् । 

कर्मचारीले संकलन भएको रकमसमेत लिएर फरार भएपछि पीडित कर्मचारीहरुले कारवाहीको लागि जिल्ला खसमन्वय समितिमा निवेदन दिएका छन् । कर्मचारीहरु गंगाकुमार प्रधान,सन्तोस बस्नेत, मनिराज तामाङ्ग, प्रेमकुमारी खड्का र उत्तराज खड्काले निवेदन दिएकाछन । निवेदनमा ७ महिनाको तलबमध्ये २ महिनाको मात्र तलब पाएको र बाँकी तलव नपाएको उल्लेख गरिएको छ । संस्थाका अध्यक्ष लालकर्ण देवकोटा, प्रदेश नम्बर १ का संयोजक एकम शर्मा भोजपुरकी शाखा प्रवन्धक पार्वती मल्ललगायतमा छानविन गर्न माग गरिएको छ । 

भाडामा कोठा लिएर कार्यालय सञ्चालन गरिरहेको संस्था माघ १५ देखि बन्द रहेको छ । कार्यालयमा बस्दै आएकी शाखा प्रबन्धक पार्वती मल्लसमेत इटहरी भनेर गए पछि नफर्केको घर धनि कोपिला खड्काले बताइन् । एक वर्षको घरभाडा लिएको भए पनि एक महिनादेखि सम्पर्कविहीन भएको उनले बताइन् । निवेदन परेपछि जिल्ला समन्वय समितिले आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिमा पत्रचार गरेको जनाएको छ । 

जिल्ला समन्वय समितिले त्यस्तै प्रकृतिको एसोसिएसन अफ एग्रिकल्चर नेपाल प्रालिको शाखा कार्यलयको काम पनि देखिएकोले यो संस्थामाथि पनि छानविनको माग गरेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र प्राप्त भएको आवश्यक कारवाहीको प्रक्रिया अगाडि वढाएको  जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया