मणि शाहलाई श्रद्धाञ्जली दिन रंगशालामा शुभचिन्तकको बाक्लो उपस्थिति

 जेठ १, २०७५ मंगलबार १४:१६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान मणि शाहलाई मंगलबार श्रद्धाञ्जली दिइंदै

 

काठमाडौं, जेठ १ – नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान मणि शाहलाई मंगलबार श्रद्धाञ्जली दिइएको छ । 

दशरथ रंगशालमा राखिएको उनको पार्थीव शरीरमा विभिन्न राजनीतिज्ञ, खेलाडी तथा खेल पदाधिकारीले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शाहको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि बिहान नौ बजेदेखि नै दशरथ रंगशालामा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उनलाई श्रद्धाञ्जली दिनका लागि युवा तथा खेलकुद मन्त्रीसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा पदाधिकारी राष्ट्रिय टिमका खेलाडी, मनाङ मस्र्याङ्दी क्लबका पदाधिकारी तथा अन्य खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरु रंगशाला पुग्नुभएको थियो ।

 

कलेजो र पित्तको समस्याबाट लामो समयदेखि पीडित पूर्व फुटबलर शाहको सोमबार साँझ थापाथलीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सन् १९८५ देखि राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरेका शाहले ४८ क्यापमा ६ अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न  एसियाली खेलकुदमा नेपालको झण्डा बोकेका थिए । फुटबलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोक्ने शाह एक्ला खेलाडी हुन् ।

शाहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया