खानेपानी अभावमा खानीगाउँका स्थानीय बसाइँ सर्न थाले

 फागुन २१, २०७५ मंगलबार ९:५९:५४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँका स्थानीयहरु खानेपानी अभावमा बसाइँ सर्न थालेका छन् ।

खानीगाउँमा खानेपानीको अभाव हुदाँ स्थानीय गाउलेहरु छटपटाउर्दै खानेपानी भएको गाउँ तिर बसाइँ सर्न थालेका हुन । खानेपानीको अभावमा अहिलेसम्म १० घरपरिवार बसाइँ सरेर गइसकेका छन् । अहिलेसम्म खानीगाउँका गणेश विश्वकर्मा, भीमबहादुर श्रेष्ठ, गंगाबहादुर श्रेष्ठ, गंगाबहादुर विश्वकर्मा, गोपाल विश्वकर्मा र चन्द्र श्रेष्ठ लगायत १० घरपरिवार बसाइँ हिँडेको स्थानीय बुद्धि श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार, गाउँमा खानेपानी अभावमा समाधान गर्न नसके अझै बसाइँ सर्नेको संख्या बढ्ने देखिन्छ । 

खानीगाउँकी स्थानीय रामदेवी श्रेष्ठलाई अन्य कामभन्दा पनि पानीको चिन्ता हुन्छ । उहाँ दैनिक घरभन्दा दुई घण्टा टाढाको कुवामा पानी लिन बिहान ३ बजे पुग्नुहुन्छ । उहाँले भन्नुभयो—‘बिहानै ३ बजे कुवा पुगेर लाइनमा बस्दा ५ बजेतिर पानी भर्ने पालो आउँछ, कहिलेकाहीं त कुवाको पानी रित्तिएर अस्थायी धारोबाट पानी आउँदैन । त्यत्तिकै फर्कनुपर्छ । घर आइपुग्दा बिहानको ७–८ बज्छ ।’

यो समस्या उहाँको मात्रै होइन गाउँ भरि नै यस्तै पीडा सुनाउनेहरुको लर्को लाग्छ । उहाँहरुको यो समस्या अहिलेको मात्रै होइन वर्षौँ यस्तै समस्या भोग्दै आइरहनु भएको छ । गाउँको नजिकमा मुहान छैन, भएका पनि सुक्न थाले । पानी अभावमा धेरै घरपरिवार बसाइँ गएका छन् । 

गाउँमा कसरी खानेपानीको ब्यवस्थापन गर्ने भन्ने स्थानीय सरकारलाई समेत टाउको दुखाइको समस्या बनेको देखिन्छ । 

खानेपानी ब्यबस्थापन स्थानीय सरकारलाई चुनौती     

खानीगाउँका स्थानीयहरु खानेपानीको माग गर्दै नगरपालिका पुग्न थालेपछि स्थानीय सरकारले चासो देखाएको छ । एकसाता अघि खानीगाउँ खानेपानी ब्यवस्थापनको लागि पानीको मुहान खोजी गर्दै पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले जंगल नै चहारेका थिए ।

स्थानीयबासिन्दाहरु गाउँमा खानेपानीको माग गर्दै गुनासो बोकेर नगरपालिका आउने क्रम बढेपछि खानेपानी ब्यवस्थापन गर्न आफैँ अग्रसर भएर मुहानको खोजी गर्दैै हिडेको मेयर राईले बताउनुभयो । उहाँको अनुसार, खानीगाउँमा खानेपानी ब्यवस्थापन गर्न र बसाइँसराई रोक्न भए पनि आफैँले एक टोली लिएर मुहानको खोजीमा हिँडेको बताउनुभयो । 

नगरभित्र खानेपानी ब्यवस्थापनका लागी कार्यपालिकाको बैठकले ५० लाख रुपैया बजेट बिनियोजन गरिएको मेयर राईले जानकारी दिनुभयो । यहाँ प्राविधिकद्धारा लागत स्टामिट तयार गर्दा करोडभन्दा माथि लाग्ने देखियो । त्यसैले थप रकमका लागि प्रदेश र संघीय सरकारसँग मागेर भए पनि खानेपानी ब्यवस्थापन गर्न आफूले पहल गरिरहेको मेयर राईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया