मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीन महिना थपियो

 असार ११, २०७५ सोमबार ७:१६:४८ | रासस
unn.prixa.net

काठमाडौं – असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको हो । 

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलकाअनुसार आगामी दशैँ अगाडि नै मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पथान्तरण (पानी खसाल्ने) गर्ने शर्तसहित निर्माण व्यवसायीसँग सहमति भएको हो । 

निर्माण व्यवसायीको रुपमा सिएमसीले तोकिएबमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । गत जेठ १८ गते १५ दिनको म्याद राखेर मन्त्रालयले आयोजनामा किन ढिलाई भएको हो ? भन्ने प्रश्नको उत्तर दिन भनेको थियो । 

मन्त्रालयको पत्रलगत्तै सिएमसीको केन्द्रीय कार्यालय इटालीबाट निर्माण व्यवसायीको उच्च प्रतिनिधि नेपाल आएको थियो । पटकपटक काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्ने तर कुनै पनि जिम्मेवारी पूरा नगर्ने देखिएपछि सरकारले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो । “लगातारको छलफलपछि निर्माण व्यवसायी असोज मसान्तसम्म सुन्दरीजलमा पानी पथान्तरण गराउन सहमत भएको छ” कार्यकारी निर्देशक कँडेलले भन्नुभयो । 

गएको चैत २७ गते नै आयोजनाको कूल २७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएपछि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएको थियो । उसले ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीपछि आफूहरुले बढी काम गर्नुपरेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिएभन्दा बढी काम गरेको भन्दै रु एक अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो । 

निर्माण व्यवसायीको मागमध्ये परामर्शदाता स्फ्टेशाको सिफारिशमा रु २८ करोड थप रकम दिइसकेको छ । तर उसले थप रकम पाउनुपर्ने भन्दै शर्त राखेर सुरुङ मर्मतको काम रोक्दै आएको थियो । निर्माण व्यवसायीलाई सरकारले हालसम्म सात अर्ब ८० रुपैयाँ करोड भुक्तानी गरिसकेको छ । 

निर्माण व्यवसायीको दाबीमाथि विवाद समाधान समितिको बैठकमा छलफल भएको छ । त्यसको निर्णय भने सार्वजनिक भइसकेको छैन । “सुरुङ ब्रेकथ्रु पछि त सुरुङ मर्मतलगायतको काम नै हुन सकेन, करीबकरीब नगण्य रुपमा मात्रै काम भएको थियो, पछिल्लो सहमतिपछि आयोजना अगाडि बढ्छ भन्ने आश पलाएको छ”–कार्यकारी निर्देशक कँडेलले भन्नुभयो । 

पूर्वसहमतिअनुसार निर्माण व्यवसायीले आगामी साउन मसान्तसम्म सुन्दरीजलमा पानी ल्याउनुपर्ने थियो । तर लामो समय काम रोकिँदा त्यो म्याद अब सरेर असोज मसान्त पुगेको छ । कार्यकारी निर्देशक कँडेलले यही असार ८ गते आयोजना विकास समिति र निर्माण व्यवसायीबीच निर्माणकार्यलाई तीव्रता दिने विषयमा सहमति भएको जानकारी दिनुभयो । 

खानेपानी मन्त्री बीना मगरले निर्माण व्यवसायीले काम नगरेको र शर्तअनुसार सुरुङ मर्मतमा ध्यान नदिएको भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी कूटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना गत वैशाखमा नै सम्पन्न गर्ने लक्ष्य राखिएपनि धकेलिँदै आएको छ । सरकारले आयोजनाका लागि सबै प्रकारको साधन स्रोत उपलब्ध गराएपनि निर्धारित लक्ष्यमा काम हुन सकेको थिएन । 

पछिल्लो शर्तसहितको सहमतिपछि भने आगामी दशैँ अगावै काठमाडौँमा पानी आइपुग्ने सम्भावना बढेर गएको बताइन्छ । कूल २७ किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब सात किलोमिटर सुरुङ मर्मत भइसकेको छ । अब बाँकी रहेको २० किलोमिटर सुरुङ मर्मत गर्ने, बाँधस्थलको निर्माण तथा अन्य प्राविधिक काम सम्पन्न गरेर आयोजना सम्पन्न गर्ने विषयमा आयोजना र निर्माण व्यवसायीबीच सहमति भएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया