विश्वकप फुटबल २०१८ : नकआउट चरण प्रवेश गर्न स्पेनलाई डिफेन्सको चिन्ता

 असार ११, २०७५ सोमबार १२:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०१४ को विश्वकपमा साविक विजेताको हैसियतमा ब्राजिल पुगेको स्पेनिस टोली समूह चरणमै लज्जास्पद पराजय ब्यहोरेर घर फर्कियो । अहिले भैरहेको विश्वकपमा पनि स्पेनको सुरवात राम्रो हुन सकेन ।

पहिलो खेलमा पार्चुगलसँग शनशनीपूर्ण रुपमा तीन – तीन गोलको बराबरी खेल्यो । दोस्रो खेलमा इरानलाई पराजित गरी उसले ४ अंक बनाएको छ र नकआउट चरण प्रवेश निश्चित बनाउन आज मोरक्कोविरुद्ध जित हासिल गर्नुपर्नेछ ।

डिफेन्डर जोर्डी अल्वाले अपेक्षा गरेका छन् कि मोरक्कोविरुद्धको खेलमा स्पेनले अग्रपंक्तिका साथै डिफेन्समा पनि सुधार गर्नेछ । किनभने फर्नाण्डो हेइरोको टोली मोरक्कोलाई हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न तयार छ ।

क्रिष्टियानो रोनाल्डोको अविश्वसनीय ह्याट्रिकपछि आफ्नो नियन्त्रणमा रहेको खेल स्पेनले बराबरीमा गुमायो । दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी इरानले १–० ले हारे पनि स्पेनलाई सहज थिएन । भिडियो असिस्टेन्ट रेफ्रीले एउटा गोल अफसाइड करार गरेपछिको फाइदा स्पेनले उठाएको थियो ।

‘मेरो बिचारमा हामीले इरानबिरुद्धको खेल नियन्त्रणमा राखेका थियौं, तर, यो पनि सत्य हो कि उनीहरु निक्कै खतरनाक थिए । एउटा गोलले मान्यता नपाउनु र अर्को एक हेड प्रहार बारमा लाग्नुले हामीलाई भाग्यमानी बनायो ।’ अल्वाले स्पेनिस म्यागाजिन मार्कासँग भने ।

आश्चर्यको कुरा अर्को के पनि हो भने अल्वाले इरानबिरुद्धको खेल पोर्चुगलबिरुद्धको भन्दा पनि कठिन अनुभव गरेको बताएका छन् । ‘वास्तवमै हामी पार्चुगलभन्दा उत्कृष्ट थियौं, उनीहरु भन्दा हामी जितको हकदार थियौं, तर, यो विश्वकप हो ।’ उनले भनेका छन् ‘मानिसहरुले सोचिरहेका छन् कि इरान यो स्तरको टोली होइन, तर, पोर्चुगलको तुलनामा हाम्रो लागि इरान अधिक जटिल प्रतिस्पर्धी बनेको थियो । हामीसँग चार अंक छ र यो महत्वपूर्ण हुन्छ कि हामीले हमेसा आफूलाई सही बनाउनुपर्छ । यो विश्वकप हो, हरेक दिनको हरेक खेल हामीले धैर्यपूर्वक खेल्नुपर्छ ।’

 मोरक्कोका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हो । आफ्नो सुरुआती २ खेलमा पराजित भएपछि हर्वे रोनाल्डको टोली विश्वकपबाट बाहिरिएको छ । दुवै खेलमा धेरे भन्दा धेरै अवसरहरु पाए पनि मोरक्कोले गोल गर्न सकेन । जारी विश्वकपका दुई खेलबाट सबैको साहनुभूति पाए पनि उसले गोल गर्न चुकेको थियो ।

‘हामीलाई थाहा छ कि हामी बाहिरिइसकेका छौं । तर, विश्वकपको सुखद अन्त्य गरी हामीलाई माया गर्ने जनताको अनुहारमा खुसी ल्याउन हामी हरसम्भव प्रयत्न गर्नेछौं ।’ रियल मड्रिडका फुल–ब्याक अचरफ हाकिमीले पत्रकारहरुसँग भने ।
 
प्लेयर्स टू वाच

डिएगो कोष्टा, स्पेन

सन् २०१४ को विश्वकप र २०१६ को युरोकपमा अप्रत्यासित रुपमा टिमबाहिर पर्नुको पीडा सायद डिएगो कोष्टालाई राम्रोसँग थाहा छ । तर, एथ्लेटिको मड्रिडका स्ट्राइकर कोष्टा रुसमा स्पेनिस टोलीको मुख्य स्ट्राइकरको रुपमा स्थापित भएका छन् । रुसमा उनले पछिल्ला २ खेलाम ३ गोल गरिसकेका छन् । पोर्चुगलबिरुद्ध २ गोल गरेका उनले इरानबिरुद्ध विजयी गोल गरेका थिए ।
 
अयुव अल कावी, मोरक्को

पछिल्ला केही सिजनमा मोरक्कोको तल्लो लिगबाट तीव्र गतिमा स्तरीय प्रदर्शन गरिरहेका शानदार स्ट्राइकर हुन् एल कावी । कावीले मोरक्कोका लागि ठूलो प्रतियोगितामा अहिलेसम्म अवसर पाएका छैनन् । यसअघिका दुवै खेलमा उनले सब्सिच्युड खेलाडीको रुपमा मैदान छिरेर प्रभावशाली प्रदर्शन गरे । उनले इरानबिरुद्ध ७७ मिनेटमा र पोर्चुगलबिरुद्ध ६९ मिनेटमा मैदान छिरेका थिए ।
 
म्याच फ्याक्ट्स
–स्पेनले विश्वकपमा अफ्रिकी प्रतिस्पर्धीसँग अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ । र, ११ गोल गरेको छ ।
 
– मोरक्को आफू सहभागी भएको ५ मध्ये ४ विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । सन् १९८६ मा मात्र उसले नकआउट चरणको यात्रा तय गरेको थियो ।
 
– विश्वकपका पछिल्ला ६ खेलमा उसले विपक्षीले भन्दा धेरै शट प्रहार गरेको छ । जारी विश्वकपमा पनि उसले पोर्चुगल र इरानबिरुद्ध विपक्षीले भन्दा बढी पोष्ट एट्याक गरेको थियो ।
 
– डिएगो कोष्टाले स्पेनका लागि खेलेका पछिल्ला ९ अन्तर्रा्ष्ट्रिय म्याचमा ९ गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया