३५ वर्षपछि नयाँ मेसिन जडान, उज्यालियो जुम्ला सदरमुकाम खलङ्गा

 फागुन २७, २०७५ सोमबार १९:२:३९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – बिजुली नहुँदा लामो समयसम्म अन्धकार बनेको जुम्लाको सदरमुकाम खलङ्गा उज्यालिएको छ । आयाेजना सुरु भएकाे ३५ वर्षमा नयाँ मेसिन  जडान गरेपछि अहिले खलङ्गामा नियमित विद्युत आपूर्ति भएको छ । 

भारतीय राजदूतावासको सहयोगमा २ करोड ६३ लाख ७७ हजार रुपैयाँ र साना जलविद्युत उपभोक्ता समिति जुम्लाको ४२ लाख २२ हजार रुपैयाँ आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति जुम्लाको प्राविधिक सहयोगमा नयाँ मेसिन  फेरिएको हो । 

वि.सं. २०४० साल माघ २० गते तत्कालीन जुम्लाका यातायात तथा जलस्रोत मन्त्री हरिचन्द्र महतको पहलमा तत्कालीन राजा विरेन्द्रले साना जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको थियो । २ सय २० किलोवाटको त्यस आयोजनाको क्षमतामा बिस्तारै ह्रास हुँदै गएको थियो । त्यसैमाथि उपभोक्ताहरुको सङ्ख्या बढ्दै गएपछि जुम्ला सदरमुकाममा  दैनिक बिजुली आपूर्तिमा समस्या बढ्याे । 

भारतीय दूतावासले सहयाेग गरेकाे १ सय १० केभीको मेसिन  आइतबार जडान गरेपछि जुम्लाको सदरमुकाम खलङ्गा झिलिमिली भएको छ । यस मेसिनबाट १ सय ३० किलोवाट बिजुली उत्पादन भएको साना जलविद्युत उपभोक्ता समितिले जनाएको छ । यो क्षमता पुराना दुई मेशिनकाे भन्दा बढी हो । 

यस्तै जिल्लाकै घुगुत्तीमा रहेको पावरहाउसमा अर्को १ सय १० केभी क्षमताको मेशिन जडान कार्य समेत सुरु गरिने भएको छ । करिब दुई महिनामा अर्को मेशिन समेत जडान भएमा त्यसबाट २ सय ६० किलोवाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।

त्यसपछि चन्दननाथ नगरपालिकाको सबै स्थानमा बिजुलीको पहुँच पुग्ने साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले दाबी गर्नुभयो ।

भारतीय दूतावासले सहयोग गरेको मेसिन ल्याएर जडान गर्नका लागि जिल्ला समन्वय समितिले आह्वान गरेको टेण्डर भने पासी शुभकामना जेभी गेटा ५ कैलालीले लिएको छ । 

मेसिन  जडानका लागि भारतबाटै ७ जनाको टोली आएको इन्जिनियर कुवर गिलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया