विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

 चैत १, २०७५ शुक्रबार ६:४४:३६ | रासस
unn.prixa.net

कास्की –

‘ट्याक्सी गुृड्यो सरर पोखराको बजारमा 
कति आए कति गए हाम्रो नजरमा’ (तिलकबम मल्ल) 

चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ । 

यातायात व्यवस्था कार्यालय, गण्डकी सवारीका नासु चूडामणि अर्यालका अनुसार झण्डै ६ हजार ट्याक्सी कार्यालयमा दर्ता भएका छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ । 

सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुनुहुन्छ । मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गर्नुभएको छ । सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गर्नुभएकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गर्नुभयोे ।

दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देख्नुहुन्थ्यो । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे । उहाँलाई लाग्यो महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र ? उहाँलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित गर्‍यो । 

उहाँले विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिक्नुभयो र लगत्तै अनुमतिपत्र पनि लिनु भयो । श्रीमानलाई आफूले ट्याक्सी चलाउन चाहेको बताउनुभयो तर उहाँले स्वीकृति दिनुभएन । पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिनुभयो । कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमानकाे साथ पनि थपियो । 

उहाँले मासिक रु २८ हजार किस्ता बुझाउने गरी बैंकबाट रु १३ लाखमा नयाँ मारुती अल्टो गाडी निकाल्नुभयो । विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उहाँ देशका कुनाकन्दरा पुग्नुभएको छ । धेरै रातका बाटो छिचोल्नुभएको छ । बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाउनुभएको छ । आफ्नो कामप्रति उहाँलाई उत्तिकै आत्मसम्मान छ । उहाँ निकै सन्तुष्ट हुनुहुन्छ ।

हताश, निराश र अल्छी नमान्ने होे भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउनुहुन्छ । उहाँका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउनुहुन्छ । दुवैको आम्दानी सन्तोषजनक छ । रिजर्भमा उहाँको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उहाँलाई नै खोज्ने गर्छन् । यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उहाँको अनुभव छ । 

पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देख्नुभयो । चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाउनुभयो । यस्तो भइरहन्छ । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आउनुभएको छ । आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् । 

कुँवर भन्नुहुन्छ “सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन । आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन ।” यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उहाँ बताउनुहुन्छ । 

“सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ । सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो”, उहाँले भन्नुभयो । सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उहाँको विश्वास छ ।

‘ट्याक्सी बोलाउँदै धुलो उडाउँदै 
मायाले बोलाउँछ रुमाल हल्लाउँदै’(एसके अधिकारी, राजेशकुमार श्रेष्ठ, नित्याशिवा) 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया