माईभ्याली गोल्डकप: काँकडभिट्टा र शेर्पा फाइनलका लागि प्रतिस्पर्धा गर्दै

 चैत ३, २०७५ आइतबार १३:३७:३६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करणको आइतबार हुने खेलमा काँकडभिट्टा र शेर्पा फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।

झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) र हिमालयन शेर्पा क्लब काठमाण्डाैबीच इलामको खेलमैदान ठूलो टुँडिखेलमा माईभ्याली गोल्डकपको फाइनलका लागि प्रतिस्पर्धा हुने भएको हो । 

विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएर काँकडभिट्टा सेमिफाइनलमा पुगेको हो भने हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको स्थान पक्का गरेको थियो । यी दुई टोलीमा विजयी टाेलीले दाउफिन्स फुटबल क्लब क्यामरुनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

माईभ्याली गोल्डकप प्रतियोगितामा काँकडभिट्टा र शेर्पा यसै संस्करणका सहभागी टिमहरु हुन् । दुई टिमले नै जित आफ्नो नै हुने दावी गरेका छन् । 

जारी सिजनमा दोस्रो विशाल मेमोरियल गोल्डकपमा त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो । पोखरा कपमा सशष्त्र प्रहरीकाे एपीएफसँग २–१ ले पराजित हुन पुगेको थियो । 

भर्खरै सम्पन्न आहारारा गोल्डकपको १७ औँ संस्करणमा धरान फुटबल क्लबले हिमालयन शेर्पालाई १–० ले पन्छाएको थियो । यस्तै काँकडभिट्टा सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपको सेमिफाइलनमा थ्रीस्टारसँग २–० ले पराजित भएको थियो भने बुढासुब्बा गोल्डकपको क्वार्टरफाइलनमा संकटासँग सडनडेथमा पराजित भएको थियो ।

जुन टिमले जित निकाले पनि यस संस्करणको फाइनलमा प्रतिस्पर्धा गर्ने टोलीहरु नयाँ हुनेछन् । चैत्र ५ गते हुने फाइनल खेलका विजेता टिमले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

यो प्रतियोगिता २०७१ सालदेखि लगातार आयोजना हुँदै आएकाे छ  । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया