बिहीबार दैलेखका सबै स्थानीय तहले जातिभेद विरुद्धको दिवस मनाउने

 चैत ६, २०७५ बुधबार १८:२२:३५ | अमर सुनार

दैलेख – हरेक वर्ष मार्च २१ तारिकमा मनाइने ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ यस पटक दैलेखका ११ वटै नगरपालिका र गाउँपालिकाकै आयोजनामा सम्बन्धित स्थानीय तहमा मनाइने भएको छ ।

स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको आग्रहमा चैत ७ गते एकै दिन सबै स्थानीय तहमा याे दिवस मनाउन लागिएको हो । 

जिल्लामा जातीय विभेदको समस्या अझै समाधान नभएको, स्थानीय तहहरुले यो सवाललाई प्राथमिकतामा समेत नराखेको अवस्थामा ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’को अवसर पारेर छलफल गर्ने विषयमा केन्द्रित हुने गरी कार्यक्रम तय गरिएको मञ्चका कार्यवाहक संयोजक हर्कबहादुर नेपालीले बताउनुभयो । 

लक्षित समूहमा विनियोजित बजेटमा पनि दलित समुदायलाई बेवास्ता गरिएको विषयमा समुदायले प्रश्न गर्ने र जवाफदेही अधिकारीहरुले जवाफ दिनुपर्ने गरी हाकाहाकी सवालजवाफ चलाउने गरी गर्न लागिएको कार्यक्रमको नाम नै विचार विमर्श कार्यक्रम राखिएको छ ।

कार्यक्रमका लागि ५ जना कर्णाली प्रदेशसभाका सदस्यहरु जवाफदेही अधिकारी जानु हुने बताइएको छ ।

अधिकारीहरुमा गुराँस गाउँपालिकाका सांसद मीनासिंह रखाल, भैरबी गाउँपालिकाका हिमबहादुर शाही, भगवतीमाई गाउँपालिकामा धर्मराज रेग्मी, दुल्लु नगरपालिकाका सुशील थापा र नारायण नगरपालिकाका अम्मरबहादुर थापा हुनुहुनेछ । बाँकी स्थानीय तहमा दलित अधिकारकर्मी र राजनीतिक दलका दलित भातृसंगठनका नेताहरु पुग्नुहुने बताइएको छ ।

‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’ काे सन्दर्भ र स्थानीय तहमा जातीय विभेद सवाल, स्थानीय सरकारको दायित्व विषयमा केन्द्रित विचार विमर्श कार्यक्रमबाहेक जिल्लाका ११ वटै स्थानीय तहमा दलित जनप्रतिधिधि मञ्च पनि यसै अवसरमा नै गठन गठन हुने बताइएको छ । 

अघिल्लो वर्ष दलित नागरिक समाजको अग्रसरतामा जिल्लाका ९० वडामा निर्वाचित दलित महिला सदस्य, खुला प्रतिस्पर्धाबाट जितेका ११ जना दलित सदस्य, जिल्लाभरका २६ जना कार्यपालिका सदस्य र २ जना वडाध्यक्ष समेतको जिल्ला स्तरीय भेला गरी ‘अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस’कै बेला स्थानीय तह दलित जनप्रतिनिधि मञ्च जिल्ला समिति गठन गरेको छ ।

दलित जनप्रतिधिहरुलाई संगठित गरिइएको नेपालकै यो पहिलो नमूना हो । जिल्लाका सबै स्थानीय तहको प्रतिनिधित्व गराइएको १३ सदस्यीय यो मञ्च गठन भएयता हरेक महिना बस्ने बैठकमा आआफ्ना स्थानीय तहमा गरिएका प्रयास, प्राप्त सफलता तथा सिकाइ र समस्याका विषयमा छलफल गर्ने र समाधानका निम्ति रणनीति बनाउन ठूलो सहयोग पुगेको स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका जिल्ला संयोजक दिनेश बिकले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया