सरकारले फागुनमा बाँड्यो १२ करोड, विदेश भ्रमणमा २ करोड खर्च,  १८ अर्ब रकमान्तर

 चैत ११, २०७५ सोमबार १७:१४:५५ | अर्जुन पोख्रेल

काडमाण्डाै - सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ । सरकारले  पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई  १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो । 

वैदेशिक भ्रमणमा झण्डै २ करोड खर्च

फागुन महिनामा सरकारले झण्डै २ करोड रुपैयाँ वैदेशिक भ्रमणमा खर्च गरेको छ । सबैभन्दा धेरै प्रधानमन्त्री स्वीजरल्याण्डको डावोसमा जाँदा एक करोड ८१ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै कृषिमन्त्री चन्द्रप्रकाश खनाल इटली जाँदा ९ लाख १९ हजार, उद्योगमन्त्री मातृका यादवको भारत भ्रमणको लागि २ लाख ६६ हजार,  स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भारत भ्रमणको लागि २ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ । सबै गरेर फागुनमा १ करोड ९३ लाख ४३ हजार रुपैयाँ वैदेशिक भ्रमणमा खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । 

१८ अर्ब ३७ करोड रकमान्तर

सरकारले फागुनमा १८ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै पैसा रकमान्तर गरेको छ । सबैभन्दा धेरै रकमान्तर स्थानीय तहलाई गरिएको छ । समपुरक र विशेष अनुदान माग गरेका स्थानीय तहलाई ६ अर्ब ३ करोड रुपैयाँ रकमान्तर गरेर दिइएको छ । 

यस्तै हुलाकी राजमार्गको दोस्रो चरणको कामको लागि २ अर्ब १५ करोड रुपैयाँ रकमान्तर गरिएको छ । 

बुटवल बेलहिया सडकको लागि २० करोड रुपैयाँ, विशेष आर्थिक क्षेत्र सेजको लागि ४० करोड रुपैयाँ दिइएको छ । खाद्य संस्थानको जमिन महान्याधिवक्ताको कार्यालयलाई बेचेवापत आपूर्ति मन्त्रालयलाई १० करोड रुपैयाँ दिइएको छ ।  

परराष्ट्र मन्त्रालयलाई गाडी किन्न १ करोड ४६ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनको लागि २ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।

फागुन महिनामा सरकारले बाँडेको रकम, वैदेशिक भ्रमणको खर्च र रकमान्तरको तालिका


अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया