सपनामा हिँड्ने बानी परेकाहरुले सेना परिचालनको अनावश्यक हल्ला फिँजाए : सञ्चार मन्त्री बाँस्कोटा

 चैत १४, २०७५ बिहिबार १७:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गर्नुभएको हो । सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सेना सरकार मातहतको निकाय हो । सरकारले लिने निर्णयप्रति न उसको कहिलेही विमति छ । न रहन्छ । नेपाली सेनाको लामो इतिहास छ । उसले राजनीतिक नेतृत्व वा सरकारको निर्णयलाई हमेसा फलो गर्दै आएको छ । कहाँनेर अन्तरविरोध देख्नुभयो । वा अन्तरविरोध चर्काउन कसैले प्रयत्न गर्यो ती कुराहरु सत्य होइन । गलत हो ।’  

नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्र्दभमा सैनिक प्रवक्ताको हवाला दिए पनि कसैले किटानीका साथ नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सैनिक प्रवक्ताको हवाला दिए पनि सैनिक प्रवक्ता को हुन् ? के भने भन्ने कुरा कसैले किटानीका साथ भनेको पनि छैन । सेनाले त्यसलाई स्वीकार गरेको पनि छैन । कथाहरु आफै उत्पादन गर्ने । आफ्नै कथा उत्पादन गरेर आफैले विमोचन गरेर त्यसको समालोचना पनि गर्ने प्रवृति हावी भएको र त्यसैको एउटा पछिल्लो नमुना यो विषय हो जस्तो लाग्छ ।’

उहाँले संविधान र कानुनी प्रबन्ध नहेरी नागरिकमा भ्रम फैलाउने काम नगर्न सचेत गराउनुभयो । सपनामा हिँड्ने बानी परेकाहरुले सेनाको बारेमा नागरिकमा भ्रम फैलाउने काम भएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सेना परिचालनको विषयमा धेरै बहस, अनावश्यक बहस, कोकोहोलो, उत्पात भयो । तर संविधानको धारा हेरिएन । कानुनी प्रबन्ध हेरिएन । किनभने चिज त अर्कै हल्ला गर्नुछ । त्यसैले दुनियाँलाई दिग्भ्रमित बनाउन बानी परेकाहरुले त्यो कुरा गर्न सक्छन् ।’

उहाँले द्वन्द्वलाई उत्साहित र प्रोत्साहित गर्ने काम नगर्न सबैलाई सचेत गराउनुभयो । आतंकवादी क्रियाकलाप र चरित्रलाई सरकारले पराजित गर्ने दाबी गर्नुभयो । हिंसा विश्वभर नै सधैँ परास्त हुँदै आएको उल्लेख गर्दै उहाँले हिंसाका कारण फेरि देशमा क्षति हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । देशको शान्ति सुरक्षामाथि रमाइलोमा धाबा बोल्ने र अवाञ्छित लेख प्रसारण, प्रकाशन गरी समाज र नागरिकलाई दिग्भ्रमित पार्ने काम नगर्न उहाँले सचेत गराउनुभयो ।

संविधानविरोधी क्रियाकलापलाई सरकारले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने भन्दै उहाँले कम्युनिष्ट पार्टीको बदख्वाईँ गरेर देशमा द्वन्द्व चर्काउने विषय लोकतन्त्र, न्याय र समानतामा आधारित नभई सामाजिक फाँसीवाद हुने टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया