ठगिएका युवाहरुकाे गुनासाे- जागिरकाे ग्यारेण्टी भन्दै पैसा उठायाे, नियुक्तिपत्र माग्दा चितवन लगेर अलपत्र पारिदियाे

 चैत १९, २०७५ मंगलबार १८:४:४१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – हाम्रो हात नेपाल नाम गरेकाे संस्थाले रोजगारीको ग्यारेन्टी दिने भन्दै रामेछापका १७ जना युवाहरुलाई ठगेको छ ।

संस्थाले युवाहरुको क्षमता हेरेर मासिक २८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जागिरकाे ग्यारेन्टी गरिदने भन्दै रामेछापका १७ जना युवाहरुसँग प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले पैसा उठाएर ठगी गरेको हो । 

युवाहरुले रोजेको विषयमा १५ दिने तालिम दिने र तालिमसँगै रोजगारीको पनि ग्यारेन्टी गरिदिने, यदि रोजगारी नपाएमा संस्थाले लिएको पैसा फिर्ता दिने शर्तमा युवाहरुसँग रकम असुली गरेको थियो । तर संस्थाले आफूले चाहेको जस्तो तालिम पनि नदिएको र रोजगारी पनि नदिएको ठगीमा परेका युवा खिलबहादुर थापाले बताउनुभयाे ।

कृषि, वन, इन्स्योरेन्स, बैंक, सञ्चार, होटल व्यवसाय, व्यापारलगायतका ९ वटा क्षेत्रमा युवाहरुले रोजे अनुसारको तालिम दिने र सोही अनुसारको रोजगारी दिने आश्वासन दिएर आफूहरुसँग पैसा उठाएको थापाले जानकारी दिनुभयाे ।

तालिम भनेर भाषा सिकाइयाे

‘तालिमको लागि भनेर काठमाण्डाैमा बोलाइ काम गर्नको लागि बोल्न सिक्नुपर्छ भन्दै हेलो, नमस्ते, के छ ? यी तीन शब्द साथीहरुको अगाडि उभिएर बोल्न लगाए, केही दिनपछि तालिम सकियो भनेर पठाए’, उहाँले गुनासाे गर्नुभयाे ।

शर्तअनुसारको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै युवाहरुले नियुक्ति पत्रसमेत मागेपछि चितवनको एक कृषि फर्ममा लगेर उक्त संस्थाका पदाधिकारीहरुले अलपत्र छोडिदिएका थिए । चितवनको आदर्श एग्रो प्लान्टेशन कम्पनीमा पुर्‍याएर अलपत्र छोडिदिएपछि आफूहरु घर फर्किनसमेत समस्या परेकाे र घरबाट पैसा मगाएर आफु घर फर्किएको उहाँले बताउनुभयाे । 

चितवन पुगेका १७ जनामध्ये घर आउँदा लाग्ने गाडी भाडा र खाना खर्चको लागि घरबाट पैसा मगाएर ६ जना घर फर्किए पनि अन्य साथीहरुसँग गाडी भाडासमेत नभएको कारण अझै उतै रहेको उहाँको भनाइ छ ।

रोजगारीको लागि भन्दै चितवन जिल्ला पुर्‍याएर हाम्रो हात नेपाल प्रा.लि.रामेछापका संयोजक साम्देन शेर्पाले युवाहरुलाई चिनवनको एक प्राइभेट फार्ममा छोडेर रातरात फरार भएको अर्का युवा प्रदीप श्रेष्ठले बताउनुभयाे ।

चिवनको आर्दश एग्रो प्लान्टेशन कम्पनीमा अलपत्र छोडिदिएर संस्थाको आधिकारिक व्यक्ति फरार भएपछि आफूहरु ठगीमा परेको कुरा थाहा पाएको उहाँकाे भनाइ छ ।

अस्पष्ट नियुक्ति पत्र

हाम्रो हात नेपाल प्रा.लि ले १७ जनालाई नियुक्ति पत्र पनि दिएको छ । तर नियुक्ति पत्रमा के काम गर्ने भनि उल्लेख गरिएको छैन । दुई वटा नियुक्ति पत्र दिएको छ, एउट नियुक्त पत्रमा सामाजिक सञ्जलमार्फत कर्मचारी माग भएअनुसार भनेर लेखिएको छ, काम उल्लेख गरिएको छैन तर तलब भने श्रम ऐन अनुसार हुने उल्लेख छ ।

अर्को नियुक्ति पत्रमा १४ हजार रुपैयाँ तलब तोकिएको भए पनि काम उल्लेख छैन । नव प्रवर्द्धन सेवा समाज नामक संस्थाको नामबाट दिइएको नियुक्ति पत्रमा हाम्रो हात नेपाल प्रा.लि.का केन्द्रीय अध्यक्ष मेघथान गिरीकाे हस्ताक्षर छ ।

चितवनमा मासिक १३ हजार ७ सय रुपैयाँ तलब र दैनिक एक सय रुपैयाँ भत्ताको व्यवस्था हुने साथै खाने बस्ने व्यवस्था पनि रोजगारदाता कम्पनीले व्यहाेर्ने आश्वासन दिएर आफूहरुलाई चितवन लगिएको प्रदीप श्रेष्ठले बताउनुभयाे । तर चितवन पुर्या‍एर संस्थाका संयोजक फरार भएपछि घर आउनको लागि समेत पैसा नभएर घरबाट पैसा मगाएर आएको उहाँको भनाइ छ । 

युवाहरुलाई झुक्याउनु गल्ती भयो : शेर्पा 

हाम्रो हात नेपाल प्रा.लि. रामेछाप शाखाका संयोजक साम्देन शेर्पाले युवाहरुलाई झुक्याउनु आफूहरुको गल्ती भएको स्वीकार गर्नुभएकाे छ ।

आफूले केन्द्रको निर्देशन अनुसार काम गरेको पनि उनले बताए । संस्थाको केन्द्रीय अध्यक्ष मेघनाथ गिरीले युवाहरुको लागि रोजगारीको ग्यारेन्टी हुन्छ भनेपछि आफूले युवासँग पैसा संकलन गरी पठाएको शेर्पाले बताउनुभयाे ।

यसमा धेरै दोष केन्द्रीय अध्यक्षको भएको उहाँको भनाइ छ । जिल्ला शाखाको तर्फबाट आफूले पनि गल्ती गरेको स्वीकार गर्दै आफूले गरेको गल्तीमा माफी दिन रामेछाप शाखाका संयोजकसमेत रहेका शेर्पाले युवाहरुसँग अनुरोध गर्नुभएकाे छ।    
  

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया