भिनाजुसँगकाे प्रेम प्रसंगका कारण श्रीमानको हत्या गरेकाे खुलासा

 चैत १९, २०७५ मंगलबार १८:३७:१२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा गएकाे हप्ता भएको हत्यामा श्रीमतीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

नाताले आफ्नै भिनाजुसँगको प्रेम झाँगिदै गएपछि ३२ वर्षीया साहिन खानले भारत बेतियाका ४२ वर्षीय भिनाजु साधिर हुसेनलाई प्रयोग गरी श्रीमानको हत्या गराएको रुपन्देही प्रहरीले बताएको हो । गएको बुधबार साँझ बुटवल १ गढिटोल नजिकै काठेपुलमा ४५ वर्षीय फिरोज खानको गोली हानी हत्या भएको थियो ।

खानको हत्यापछि अनुसन्धान केन्द्रित गरेको प्रहरीले अन्तत: फिरोजकै छोराहरु १० वर्षीय रेहान र ९ वर्षीय आरिषले दिएको बयानका आधारमा अभियुक्त पत्ता लगाउन सकेको हो ।

साहिनले हत्याको बेला आफू कोठाभित्रै रहेको प्रारम्भिक बयान दिएकी थिइन । तर छोराहरुले आफूहरुलाई थुनेर मम्मी बाहिर गएको बताएपछि सामान्य शंका मात्रै गरिरहेको प्रहरीले श्रीमतीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । मोबाइलमा रहेको कल डिटेलबाट नै हत्याको थप रहस्य खुलेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताउनु भयो ।

प्रहरीका अनुसार फिरोज कामबाट फर्कने बेला साधिर र श्रीमती साहिनले बाटोमा कुरेर बसेका थिए । प्रहरी प्रमुख थापाका अनुसार फिरोज आएपछि साधिरले अंकमाल गरेजस्तै गरेर फिरोजमाथी गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका फिरोजलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

फिरोजको मृत्युपछि सबैभन्दा बढी उनकै श्रीमती चिन्तीत हुँदै रुवावासी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भारतमा पनि विभिन्न अपराधमा संलग्न हुदै आएका साधिर र साली साहिनका बीचमा केही वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । साधिरकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भइसकेको छ ।

गएकाे २० वर्षदेखि श्रीमतीसहित फिरोज खान बुटवलमा बस्दै आएका थिए । मैनाबगरमा रहेको अटो वर्कशपमा पेन्टिङ्गको काम गर्ने फिरोजलाई निक्कै इमान्दार र साेझो व्यवहार भएको व्यक्तिको रुपमा उनी निकटकाले चिन्ने गरेका छन् ।

श्रीमती साहिन अहिले प्रहरीको नियन्त्रणमा छिन् भने हत्यामा संलग्न साधिरलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरीको सूचना अनुसार फिरोजलाई गोली हानेपछि साधिर नवलपरासीको त्रिवेणी हुँदै भारत प्रवेस गरिसकेका छन् । प्रहरीले साधिरलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरिरहेको छ ।

 

 

 

अन्तिम अपडेट: चैत ३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया