अवाञ्छित गतिविधि हुने भन्दै 'शक्ति पिक म्युजिक फेस्टिबल'माथि प्रशासनले लगायो रोक

 चैत २५, २०७५ सोमबार १९:३९:२६ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – स्थानीय प्रशासनले रोक लगाएपछि तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजलेको गुफा पोखरी क्षेत्रमा हुने भनिएको म्युजिक फेस्टिबल अन्तिम समयमा स्थगित भएको छ । 

एक सय तीन देशका पर्यटक सहभागी हुने र ७२ देशका कलाकारले सांगीतिक प्रस्तुति दिने भनिएको त्यस कार्यक्रमका सहभागीलाई शुक्रबार प्रहरीले धनकुटाको हिले तथा संखुवासभाको टुटे देउरालीबाट फर्काएको थियो । 

कार्यक्रममा सहभागी हुन त्यस क्षेत्रमा पुगेका ३ सय बढी सहभागी हिलेमा रोकिएका थिए । अन्य सयौं सहभागी आउने क्रम जारी रहेका बेला बाटैबाट फकाईएको प्रहरीले जनाएको छ । शान्ति सुरक्षा र अश्लील क्रियाकलाप हुन सक्ने भन्दै रोक लगाइएको प्रशासन स्रोतले जनाएको छ ।

प्रशासनले रोक लगाएका कारण शुक्रबारदेखि आउँदो वैशाख ७ गतेसम्म तय गरिएको पूर्व घोषित कार्यक्रम स्थगित गरिएको मादी नगरपालिका–९ का वडाध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो । प्रहरीले बाटैबाट सहभागीलाई फर्काएपछि सयौं विदेशी पर्यटक हिलेमा तीन दिनसम्म रोकिएका थिए । हिलेस्थित होराइजन होटलमा बस्दै आएका सयौं पर्यटकलाई प्रहरीले कार्यक्रम नहुने जानकारी गराएर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

आयोजकले गएको वर्ष पनि त्यसै ठाउँमा म्युजिक फेस्टिबल आयोजना गरेको थियो । अघिल्लो वर्ष गरिएको कार्यक्रमको प्रतिवेदनका आधारमा अवाञ्छित गतिविधि रोक्न भन्दै म्युजिक फेस्टिबलका मुख्य कार्यक्रम आयोजक शक्ति पिक म्युजिक फेस्टिबल प्रालिका प्रमुख सुवास केसीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । केसीलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएर आइतवार संखुवासभा पुर्‍याएको बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया