कांग्रेसको जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु

 चैत २८, २०७५ बिहिबार १८:२०:५८ | सुमन गुरुङ
unn.prixa.net

कास्की - नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि पोखरामा सुरु भएको छ । सम्मेलनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ । 

कार्यक्रम उद्घाटनका क्रममा सभापति देउवाले अब पार्टी एक हुनुको विकल्प नभएको बताउनुभयो । पार्टीको पुरानो रोगलाई निर्मूल पार्दै आफ्नै पार्टीभित्र पनि गलत कार्य गर्नेलाई कारबाही गरेर अगाडी बढ्ने उहाँको भनाइ थियो । पार्टी अन्तरघातमुक्त बनाएर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका शिर्ष नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले १ वर्षको अवधिमा कुनै काम गर्न नसकेको बताउँदै यो सरकार उद्घाटन र शिलान्यासमा मात्र व्यस्त भएको आरोप लगाउनुभयो ।

पार्टीको गुट-उपगुटको विषयमा बोल्दै महामन्त्री शशांंक कोइरालालाई केन्द्रीय कार्यालयमा बसेर व्यवस्थापन मिलाइदिन आग्रह गर्नुभयो । महामन्त्री कोइरालाले पार्टीमा एकरुपता ल्याउन महामन्त्रीको हैसियतले जस्तोसुकै कार्य पनि गर्ने बताउनुभयो । 

पोखरामा बिहीबारदेखि सुरु भएको सम्मेलन शुक्रबार सकिनेछ । सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रहसमेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाब दिनेछ ।

पार्टीलाई चलायमान र सुदृढ बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया