गहुँ भित्र्याउने बेला वर्षा, कृषिविज्ञ भन्छन् – अब मकै र मुगीमास लगाउनुस्

 वैशाख ४, २०७६ बुधबार १०:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ – सामान्यतया गहुँ काट्ने बेलामा चैत वैशाखको उखरमाउलो गर्मी झेल्नुपर्छ । हपहपी पोल्ने चर्को गर्मीमा पानी पिउँदै किसान गहुँ काट्ने र भित्र्याउने गर्छन । तर यसपटक त्यस्तो छैन ।

प्रि–मनसुनको समय भएपनि अहिले हप्तामा दुई तीन पटक पानी परिरहेको छ । केही ठाउँमा हावाहुरी चट्याङसहित पानी परिरहेको छ । धेरै किसान गहुँ काटेर भित्र्याउन लागिरहेका छन् । 

वर्षाले पानीले गहुँ भित्र्याउन समस्या पारिरहेको छ । पानीले गहुँ बाली भित्र्याउन केही ‘डिस्टर्ब’ गरे पनि यसले राम्रो फाइदा पनि हुन सक्ने कृषि विज्ञको सुझाव छ । 

यस्तो बेलामा छिटो फल्ने मुगीमास र मकै लगाउन सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कका विज्ञ हरिकृष्ण उप्रेतिले गहुँ काटेपछि केही समय खाली हुने जमीनमा ९० दिनमै तयार हुने बसन्ते मकै र छिटो फल्ने मुगीमास लगाउन सकिने बताउनुहुन्छ ।

‘अहिले धेरै जसो ठाउँमा जग्गा खाली हुदैछ । कही भइसकेको छ । मकै लगाउने बेला बाँकी नै छ । तर पानी परिरहेकाले चिस्यान भएको माटोमा मकै र मुगी मास लगाउन सकिन्छ । यसले एकातिर केही समयमै बाली फलाउन सकिन्छ भने धानखेतीका लागि मलको काम पनि गर्छ ।’ उहाँले भन्नुभयो ।

उप्रेतिका अनुसार बसन्ते मकैका अरुण १, अरुण, २, अरुण ३, अरुण ४ र अरुण ६ जातका मकै नार्कले सिफारिस गरेको छ । वैशाखको पहिलो हप्तामा लगाएको यो मकै असारसम्ममा फल्ने उहाँको भनाइ छ । 

यस्तै धानखेतीका लागि मल हुने मुगीमास पनि यो समय लगाउन सकिन्छ । मुगीमास अर्थात मुङको कोशा टिपेर बोट माटोमा मिसाए युरिया मलको काम गर्ने भएकाले धान खेतीका लागि उपयोगी हुने धानबाली विज्ञ समेत रहनु भएका उप्रेतिले बताउनुभयो । 

तराई तथा पहाडका जिल्लामा बसन्ते मकै र मुगीमास राम्रो फल्ने पनि उहाँको भनाइ छ । फाट्टफुट्ट पानी पर्ने भएकाले गहुँ काट्न र भित्र्याउन ख्याल गर्न पनि विज्ञले सुझाव दिएका छन् । मकै र मुगीबाहेक तराई तथा पहाडी जिल्लामा तरकारी समेत लगाउन सकिन्छ ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया