काम गर्न विदेश जाने नेपाली ३८ प्रतिशतले घटे, तर रेमिट्यान्स बढेर ६ खर्ब कसरी पुग्यो ?

 बैशाख ४, २०७६ बुधबार १७:४४:५२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ –  चालु आर्थिक वर्षको आठ महिनामा झण्डै ६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा अन्तिम श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या उल्लेख्य घटे पनि विदेशमा रहेका नेपालीले पठाउने रकम अर्थात रेमिट्यान्स भने झनै बढेको छ । 

पछिल्लो आठ महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको आठ महिनामा यस्तो संख्या ५ दशमलव ४ प्रतिशतले घटेको थियो । 

तर पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । अघिल्लो वर्षको आठ महिनाको तुलनामा यो वर्षको आठ महिनामा  पुन: श्रम स्वीकृति लिएर विदेश जाने नेपाली ४ दशमलव ६ प्रतिशतले बढेका छन । अघिल्लो वर्षको आठ महिनामा यो संख्या १ दशमलव ३ प्रतिशतले घटेको थियो ।

विदेश जाने नेपालीको संख्या ओरालो लागे पनि रेमिट्यान्स भने बढेको छ । पछिल्लो आठ महिनामा ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सुरुको आठ महिनामा रेमिट्यान्स ४ दशमलव ९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यो  ९ दशमलव ५ प्रतिशतले बढेको थियो । 

विदेश जाने घटे पनि रेमिट्यान्स कसरी बढ्यो ?

विदेश जाने नेपाली कामदार घटे पनि रेमिट्यान्स आयात भने घटेको छन्, यसको मुख्य कारण डलरको भाउमा आएको वृद्धि हो । नेपालीहरु विदेशमा काम गर्न जाने सबैजसो देशका मुद्रा बलियो हुँदा नेपालीले पठाएको रेमिट्यान्स पनि बढेको नेपाल राष्ट्र बैंकको भनाइ छ । 

‘डलरको भाउ १ सय १८ रुपैयाँ ३ पैसासम्म पनि पुगेको थियो, त्यो बेलामा फाइदा हुने भएकाले धेरै नेपालीले रेमिट्यान्स पठाए, डलरको भाउसँगै अरु विदेशी मुद्राको भाउ पनि बढेको छ, रेमिट्यान्स बढ्नुको मुख्य कारण यही हो ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख गुणाकर भट्टले उज्यालो अनलाइनसँग भन्नुभयो । 

आर्थिक वर्ष सुरु हुने महिना साउनमा अमेरिकी डलरको भाउ १ सय ९ रुपैँया ९४ पैसा रहेको थियो, अहिले १ सय ११ रुपैँया ६७ पैसा छ । बीचमा अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँसम्म पुगेको थियो । २०७५ असार मसान्तको तुलनामा २०७५ फागुन मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १ दशमलव ५ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको यही अवधिमा नेपाली रुपैयाँ शून्य  दशमलव ६ प्रतिशतले अवमूल्यन भएको थियो ।

यस्तै धेरै नेपाली वैदेशिक रोजगारीमा जाने देश कतारी रियालको भाउ आर्थिक वर्षको सुरुमा ३० रुपैँया ६ पैसा रहेकोमा बीचमा बढ्दै अहिले ३० रुपैयाँ ६७ पैसामा रोकिएको छ । यस्तै आर्थिक वर्षको सुरुमा कुवेती दिनार ३ सय ६२ रुपैयाँ रहेकोमा अहिले ३ सय ६७ रुपैयाँ पुगेको छ । 

रेमिट्यान्स बढ्नुको अर्को कारण सरकारले सुन र अरु खुद्रा सामान आयातमा गरेको कडाइ पनि हो । यसअघि विदेशबाट फर्केने नेपालीले भन्सारमा धेरै छुट पाउने भएपछि सामान धेरै ल्याउँथे तर अहिले भन्सारमा कडाइ भएपछि सामानको साटो पैसा नै ल्याउने गरेका छन् । 

यस्तै नेपालका बैंकले दिने ब्याजदर बढाएको र पैसाको कारोबार गर्ने वित्तीय संस्थाले विदेशी देशमा शाखा खोलेर नेपाल पैसा पठाउन सजिलो बनाएका कारण पनि रेमिट्यान्स बढेको राष्ट्र बैंकको भनाइ छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया