शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
सर्लाही - सर्लाहीको बाग्मतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगितामा पाहुना टोली पारो फुटबल क्लब भुटानलाई ३-२ ले हराउँदै घरेलु मैदानमा बाग्मती युवा क्लब फाइनलमा पुगेको छ।
खेलको ११ औँ मिनेटमा भुटानका अहमेद रोजरको आत्मघाती गोलबाट बाग्मतीले खेलमा अग्रता लिएको थियो ।
बाग्मती युवा क्लबबाट खेलेका राष्ट्रिय खेलाडी विमल घर्ती मगरले प्रहार गरेको बल क्लियर गर्न खोज्दा रोजरले आत्मघाती गोल गर्न पुगेका थिए । पहिलो गोल खाएको दुई मिनेटपछि नै भुटानका लागि खेलको १३ औँ मिनेटमा पाल्साङ लामाले बराबरी गोल फर्काए ।
त्यसको पाँच मिनेटपछि बाग्मतीले पुनः दोस्रो गोल गर्यो । खेलको १८ औँ मिनेटमा बाग्मतीका कप्तान विजय घलानले गोल गरेका थिए। फेरि त्यसको पाँच मिनेटपछि २३ औँ मिनेटमा बाग्मतीका लागि विदेशी खेलाडी एकेने क्रिष्टियनले बाग्मतीका लागि तेस्रो गोल गरे ।
भुटानका लागि सुरुमै आत्मघाती गोल गरेका अहमेद रोजरले खेलको अतिरिक्त समयमा बाग्मतीको पोस्टमा एक गोल थपे पनि त्यो जितका लागि पर्याप्त भएन र भुटानले ३–२ को हार व्यहोर्दै घर फर्किएकाे छ ।
बुधबार भएको खेलमा फाइनलको यात्रा तय गरेको आयोजक बाग्मती युवा क्लब सर्लाही र रुस्लान थ्री स्टार क्लबबीच वैशाख ६ गते फाइनल खेल हुनेछ। बुधबारको खेलमा बाग्मतीका गोलरक्षक अरुण तामाङ म्यान अफ् द म्याच घोषित भए।
प्रतियोगिताकाे विजेतालाई दश लाख र उपविजेतालाई पाँच लाख पुरस्कारको प्रदान गरिने आयोजकले जनाएको छ । वैशाख ६ गतेसम्म चल्ने खेलमा दुई विभागीय टिमसहित १२ टिमले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा हरेक दिनको म्यान अफ् द म्याच घोषित खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बाग्मती राइजिङ प्लेयर्स अफ द इयर घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।