तातोपानी नाका: चीनको काम खरायोको जस्तै, नेपालको कछुवा पारा उस्तै

 बैशाख १२, २०७६ बिहिबार १६:५:३७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – २०७२ सालको भूकम्प र २०७३ सालको असारमा भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका तातोपानी ध्वस्त भएपछि बन्द छ ।

भूकम्प र बाढीले कोदारी नाका र तातोपानी क्षेत्रका धेरैजसो घर ध्वस्त भए । हजारौं नागरिक विस्थापित भए । 

भूकम्पको ३ वर्षसम्म पनि तातोपानी नाका खुलाउने खासै पहल भएन । बरु रसुवाको रसुवागढी नाकातर्फ सरकारको ध्यान गयो । सरकारले अलिअलि गरेका प्रयासलाई चीनले सुन्दै सुनेन । 

तर गएको मंसिरदेखि भने तातोपानी क्षेत्रमा धमाधम काम भैरहेको छ । चीन र नेपालबीच आउँदोे मे १ तारिखमा नाका खुलाउने औपचारिक सहमतिपछि चीनले सयौं कामदार र दर्जनौं मेसिन लगाएर तातोपानीमा संरचना बनाउनेदेखि  लार्चामा ठूलो सुख्खा बन्दरगाह बनाइरहेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात मे १ तारिखदेखि तातोपानी नाका खुलाउने सहमति भएअनुसार चीनले कामलाई तीव्रता दिएको हो । 

मे एक अर्थात वैशाख १८ गते नाकाको औपचारिक उद्घाटन गर्ने र त्यसको एक महिनाभित्रै चीनबाट सामान बोकेर आएका कन्टेनर नेपाल प्रवेश गराउने नेपाल र चीनको तयारी छ । 

‘अहिले उनीहरुले रातदिन नभनी काम गरिरहेका छन्, नाकामा चहलपहल बढिरहको छ, हामीलाई उत्साहित बनाएको छ’, सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी निरीक्षक उदयराज न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘पहिले यहाँ सुनसान हुँदा हामीलाई पनि काम गर्न अप्ठ्यारो थियो, अहिले चहलपहल बढेसँगै उत्साहित छौं ।’

मितेरी पुल : कामदार सबै चिनियाँ, काम तीव्र

नेपाल र चीन जोड्ने भोटेकोशीमाथिको मितेरी पुल पनि भूकम्प र बाढीले ध्वस्त बनायो ।  अहिले चीनले मितेरी पुल निर्माण गरिरहेको छ । चीनको तियानसुन सडक तथा पुल कम्पनीले २ करोड ६० लाख युआनको लागतमा मितेरी पुल बनाइरहेको छ । पुल बनाउन दैनिक एक सय जना चिनियाँ कामदार खटिएका छन् । गएको मंसिर २१ गते निर्माण सुरु भएको पुल वैशाख १७ गतेभित्रै सक्ने योजना छ । अहिलेसम्म ७५ प्रतिशत भन्दा धेरै काम सकिएको छ । 

सुख्खा बन्दरगाह: लगभग काम पूरा

१८२ वटा कन्टेनर पार्किङ गर्न मिल्ने र धेरै कार्यालय राख्न मिल्ने गरी सिन्धुपाल्चोकको लार्चामा चीनले सुख्खा बन्दगाह बनाइरहेको छ । १२ करोड ७० लाख युआन लागतमा चीनले यो बन्दरगाह बनाइरहेको छ । यसको ८५ प्रतिशत काम सकिएको छ । बन्दरगाहमा ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारले काम गरिरहेका छन् ।

‘नेपालले निर्माण गरेको भए यो बन्दरगाह बनाउन कम्तीमा ३ वर्ष लगाउँथ्यो होला, तर उनीहरुले ४ महिनामा काम सक्न थाले, हामीलाई त अचम्म लागेको छ’, लार्चामा भेटिएका बुद्ध तामाङले भन्नुभयो । 

सुख्खा बन्दगाहको काम अहिलेसम्म ९८ प्रतिशत सकिएको छ । 

कोदारी–बाह्रबिसे सडक: दर्जनौँ डोजर, सयौं कामदार, ९५ प्रतिशत काम सम्पन्न

कोदारीदेखि बाह्रबिसेसम्मको सडक पनि चीनले नै मर्मत गरिदिने भएपछि उसले यो काम पनि अन्तिम चरणमा पु¥याएको छ । गएको मंसिरमा सुरु भएको काम अहिले ९५ प्रतिशत भन्दा धेरै सकिएको छ । ठाउँ ठाउँमा नदीदेखि नै पर्खाल लगाउनुपर्ने, धेरै तार जाली भर्नुपर्ने र कतिपय ठाउँमा नयाँ ट्रयाक नै खोल्नुपर्ने भए पनि चीनले काम लगभग सकाएको छ । दर्जनाँै डोजर, एक्स्काभेटरलगायतका मेसिन तथा २ सय ५० जना नेपाली कामदार र ५० जना चिनियाँ अहिले सडक मर्मतमा लागेका छन् । ६ करोड ७७ लाख ५० हजार युआन खर्च लाग्ने यो सडक पनि अबको केही दिनमै सक्ने चिनियाँ तयारी छ । कोदारी–बाह्रबिसे सडक चीनले ग्राभेलिङ स्तरको गरिदिने भएकाले तर कालोपत्रे भने नेपालले नै गर्नुपर्नेछ । 

भन्सार विभाग भन्छ: नाका खुल्ने जानकारी आउनेबित्तिकै हामी पुग्छौँ

नाकाको काम  पुरै सम्पन्न भैनसकेकोले वैशाख १८ गतेदेखि नै व्यापारिक कारोबार हुनेगरी नाका खुल्छ भन्नेमा शंका छ । एकातिर काम पुरै सकिएको छैन भने भन्सार खोल्न चाहिने भन्सार कार्यालय, अध्यागमन कार्यालय, पशु क्वारेन्टाइन, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालय पनि तातोपानी पुगेका छैनन् । 
चीनले लार्चामा सुख्खा बन्दगाह बनाइदिएकाले अब भन्सार कार्यालयसहितका संरचना तातोपानीमा नभई लार्चामा हुनेछन् । 

‘हामी तयारी अवस्थामा छौँ, कर्मचारी दरबन्दी पहिलेकै छ, व्यापारिक हिसाबले नाका खोल्ने जानकारी आउनेबित्तिकै हामी लार्चामा गैहाल्छौं’, भन्सार विभागका निर्देशक शिशिर घिमिरेले भन्नुभयो, ‘तातोपानी नाका खोल्ने कुराले उत्साहित भएका छौं, हाम्रो तर्फबाट ढिलाइ भएर भन्सारमा सामान छुटेन भन्ने सुन्नु पर्दैन हामी, तयारी अवस्थामा छौं ।’

नेपालको काम सुस्त 

कोदारीदेखि बाह्रबिसेसम्मको सडक चीनले बनाइदिने भए पनि बाह्रबिसेदेखि बनदेउसम्मको सडक भने नेपालले नै बनाउने  सहमति भएको थियो । अहिले धेरै ठाउँमा एक लेनको कच्ची सडक छ । चीनसँगको नाका खुलेपछि धेरै लोड बोकेर चीनबाट आएका कन्टेनरको लागि राम्रो सडक बनाउनपर्छ, तर अहिलेसम्म नेपालले त्यो काम सुरु नै गरेको छैन । जुरेको पहिरो, लामोसाँघुमा भासिएको सडक, खाडीचौरनेरको कोठे पहिर लगायतका ठाउँ निकै संवेदनशील छन् ।

 

चीनले मितेरी पुल, कोदारी–बाह्रबिसे सडक र लार्चामा १८२ वटा कन्टेनर अट्ने सुख्खा बन्दरगाहको काम अन्तिम चरणमा पु¥याएको छ । तर बाह्रबिसेदेखि दोलालघाटसम्मको बाटो बनाउने जिम्मा पाएको नेपालको काम भने निकै सुस्त छ । डिभिजन सडक कार्यालय चरिकोटले २५ करोड रुपैयाँमा सडक मर्मतको काम गरिरहेको छ । तर अहिलेसम्म ४० प्रतिशत पनि काम सकिएको छैन । 

अहिले कोठे, जुरे पहिलो, महभिर र बाह्रविसेको अस्पतालनजिकै गरेर चार ठाउँमा काम भैरहेको छ । जुरेबाहेक तीनवटै ठाउँमा खोलादेखि नै पर्खाल उठाएर काम गर्नुपर्ने भएकाले लामो समय  लाग्ने देखिन्छ । 

‘हामीले ठेक्का नै ढिलो लगाएकाले काम केही ढिला भएको हो, तर चीनबाट सामान लिएर कन्टेनर आउने समयसम्म हामीले सडक ठिकठाक पारिसक्छौं’, डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘काम चलाउलाई अहिले पनि सडक छँदैछ, जोखिमयुक्त काम भएकाले राम्रो हुन त केही समय लागिहाल्छ नै ।’

चीनको काम फटाफट, स्थानीय भन्छन्: काम होस् त यस्तो

भूकम्प र नाकाबन्दीले कोदारी नाका र तातोपानी क्षेत्रको बजार तहसनहस भयो । त्यहाँ मानिस बस्नै सक्ने अवस्था थिएन । बजार, बन्दरगाह, र मितेरी पुल पनि बाढीले बगायो । त्यसपछि नेपाल सरकारले चीनसँग पटक–पटक नाका खोल्न आग्रह गर्‍यो । 

तर चीनले सुरक्षाको कारण भन्दै नाका खुलाउन मानेन । तर गएको दशैँपछि भने चीन सकारात्मक भयो । नेपालले चीनलाई मितेरी पुल, सुख्खा बन्दरगाह र बाह्रबिसेसम्मको सडक बनाइदिन आग्रह गर्‍यो । चीनले नेपालको प्रस्ताव स्वीकार गर्‍यो र काम सुरु गरिहाल्यो । काम सुरु गरे पनि चीन कुनै बहानामा रोकिएको छैन, रातदिन नभनी काम गरिरहेको छ । 

‘नेपालले काम गरेको भए मितेरी पुल बनाउन नै ३ वर्ष लगाउथ्यो होला, तर चीनले ३ महिनामै यति ठूलो पुलको काम सक्न थालेको छ, चीनको काम देखेर हामी अचम्ममा परेका छौं’, तातोपानीका व्यापारी लक्ष्मण श्रेष्ठले भन्नुभयो, ‘लार्चाको बन्दरगाह नेपालले बनाएको भए कति वर्ष लगाउँथ्यो होला, तर चीनले हामीले नपत्याउने गरी काम गरिरहेको छ ।’


 

अन्तिम अपडेट: चैत ४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया