गुल्मीको दजाकोटमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

 बैशाख १३, २०७६ शुक्रबार ८:३९:१८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । 

गाउँदेखि ५ किलोमिटर टाढा रहेको ट्यांकीबाट ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दूषित भएपछि गएको आइतबारदेखि स्थानीयहरुमा सामान्य झाडापखालाको लक्षण देखिएको थियो ।

दूषित पानीका कारण बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेका थिए । शुक्रबार बिहानसम्ममा बिरामीको संख्या बढेर १०४ पुगेको स्थानीय हरि छन्त्यालले जानकारी दिनुभयो ।

झाडापखालाको प्रकोप देखिएको ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी स्थिति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । तर पनि झाडापखाला भने अझै नियन्त्रणमा आएको छैन । 

उक्त मुहानको पानी उमालेर खााँदा पनि मानिसहरु बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्याहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । अहिले यो गाउँमा ट्यांकरबाट खानेपानी वितरण भैरहेको छ । 

बिरामीको स्थानीय ठाउँमा नै सञ्चालन गरिएको अस्थाइ स्वास्थ्य शिविर, गुल्मी अस्पताल र बुटवलको गौतमबुद्ध अस्पतालमा उपचार भैरहेको छ । अधिकांश विद्यार्थी पनि बिरामी परेकाले विद्यालयसमेत बन्द गरिएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया