स्थानीय तहलाई विकास बजेट खर्च गर्न सकस

 बैशाख २४, २०७६ मंगलबार ११:३६:१५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीका आधा दर्जन भन्दा बढी स्थानीय तहलाई विकास बजेट खर्च गर्न निकै सकस परेको छ । आर्थिक वर्ष २०७५–७६ का लागि नगरसभाले पारित गरेको विकास बजेट खर्च हुन नसकेको हो । 

स्थानीय तहमा काम गर्ने कर्मचारीको अभावसँगै, जनप्रतिनिधि बीचको आन्तरिक विवाद जस्ता कारण विकास बजेट खर्च गर्न समस्या पर्दै गएको छ । अहिलेसम्म धनकौल गाउँपालिका, पर्सा गाउँपालिका ,हरिपूर्वा नगरपालिका, विष्णु गाउँपालिका, रामनगर गाउँपालिका र बसबरिया गाँउपालिकाले कुनै पनि शीर्षकको विकास बजेट खर्च गर्न सकेका छैन । 

ती स्थानीय तहले कर्मचारीको अभावमा विकास बजेट कार्यान्वयन गर्न नसकेको बताए पनि नगरसभाका सदस्य र कार्यपालिका सदस्यबीच विकास बजेटमा भागबन्डा नमिल्दा बजेट खर्च हुन नसकेको हो । आर्थिक वर्ष सकिन लाग्दा पनि विकास बजेट खर्च गर्न नसकेका ती स्थानीय तहको धेरै बजेट फ्रीज हुने सम्भावना बढ्दै गएको छ । 

योजना कार्यान्वयन गर्नका लागि गाउँपालिकामा कार्यकारी अधिकृत नभएकाले अहिलेसम्म कुनै विकास बजेट संचालन गर्न नसकिएको धनकौल गाउँपालिकाका अध्यक्ष रामश्रय साहले बताउनुभयो । गाउँपालिकामा यस वर्षको र गएको वर्षको गरी १८ करोड रुपैयाँ बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो । 

त्यसैगरी पर्सा गाउँपालिकाले पनि यस वर्षको लागि छुट्टयाइएको सात करोड विकास बजेट अहिलेसम्म खर्च गर्न सकेको छैन । गाँउपालिकाले मुश्किलले ९० लाख रकम खर्च गरेको छ । चैत अन्तिमबाट केही योजना संचालन गर्न उपभोक्त समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले बताउनुभयो । राय भन्नुहुन्छ ‘कार्यालयमा काम गर्ने कर्मचारी छैनन्, कसरी विकासको बजेट खर्च गर्ने ?, अहिले वडाका सानोतिनो काम सुरु भएको छ अब बाँकी विकासको काम एक महिनामा सकिन्छ ।’ 

हरिपूर्वा नगरपालिकाका स्थानीय बासीन्दाले विकास बजेट खर्च गर्न नसकेको भन्दै विरोध गरेका छन् । नेकपाका कार्यकर्ताले विकास बजेट खर्च गर्न नसकेको भन्दै सोमबार दिनभरी कार्यालय परिसरमा धर्ना दिएका छन् । नगर प्रमुख सियाराम रायले नगरसभाबाट पारित योजना महिनौ बितिसक्दा समेत खर्च गर्न नसकेको भन्दै उनीहरुले नगरप्रमुखको चर्को आलोचनासमेत गरेका छन् ।

त्यसैगरी बलरा नगरपालिकामा पनि नगर प्रमुख र कार्यपालिका सदस्यबीचको विवादले विकास योजनाले गति लिन सकेको छैन । कविलासी नगरपालिकाले अहिलेसम्म जम्मा १० प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकामा कर्मचारी नभएकोले समयमा विकास बजेट खर्च गर्न नसकिएको नगर प्रमुख कौशल किशोर रायको भनाइ छ ।

यहाका धेरै स्थानीय तहले बजेट सिध्याउन पुरानै शैलीमा आर्थिक वर्षको अन्यतिर जथाभावी बजेट खर्च गर्दा भ्रष्टाचार बढ्ने र विकासको काम समेत प्रभावित हुने देखिएको छ । जिल्लाका केही स्थानीय तहले करिब ६० प्रतिशत रकम खर्च गरिसकेका छन् । यसरी ६० प्रतिशत माथि विकास बजेट खर्च गर्ने स्थानीय तहमा हरिवन नगरपालिका, लालबन्दी, बरहथवा, गौढैता, बागमती, इश्वरपुर नगरपालिका र कौडेना गाउँपालिका रहेका छन् । 

हरिवन नगरपालिकाले जेठ मसान्त भित्र सबै विकास सम्पन्न गरि सक्ने प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो । जिल्लाको दक्षिण भागमा पर्ने गोढैता नगरपालिकाले ६० प्रतिशत योजना सम्पन्न गरेको र बाँकी रहेका योजनाहरुको धमाधम सम्झौता भइरहेको नगरपालिका कार्यकारी अधिकृत बिकाउ यादवले जानकारी दिनुभयो ।

त्यसैगरी लालबन्दी नगरपालिकाले ठूला योजनाको काम अन्तिम चरणमा पुर्याएको र बाँकी केही साना योजनाहरु उपभोक्ता समितिबाट काम गर्न पर्ने भएकाले समिति गठनको काम भैइरहेको ५ नम्बर वडाका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी हरिपुर नगरपालिका, मलंगवा नगरपालिका, इश्वरपुर नगरपालिका ,बरहथवा नगरपालिकाले करिब ५० प्रतिशत विकास बजेट खर्च गरेको दाबी गरेका छन् । बरहथवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश राउतले समयमा योजना सम्पन्न गर्ने दाबी गर्नुभयो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले नगरसभा सम्पन्न भएको एक महिनापछि योजना सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई दिए पनि स्थानीय तहले आर्थिक वर्षको अन्यतिर मात्र योजना संचालन गर्ने गरेका छन् । स्पष्ट कानुन नभएका कारण स्थानीय तहको बजेट सञ्चालन गर्न समस्या परेको कर्मचारीहरुको भनाइ छ । कतिपय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचमा समन्वय नहुँदा विकास बजेट खर्च हुन नसकेको हो ।

२० स्थानीय तह रहेको यस जिल्लाका धेरै स्थानीय तहले अहिलेसम्म गएको वर्षको समेत खर्च विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयलाई बुझाएका छैनन् ।
 

अन्तिम अपडेट: चैत १, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया