स्पेनका इनिष्टाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 असार १८, २०७५ सोमबार ११:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस लिजेण्ड आन्द्रेस इनिष्टाले स्पेनले विश्वकपमा खराब नतिजा आएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

रुससँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिए लगत्तै मिडफिल्डर इनिष्टाले सन्यासको घोषणा गरेका हुन् ।

३४ वर्षीय इनिष्टाले बार्सिलोनाबाट यसअघि नै सन्यास लिइसकेका छन् । त्यसपछि उनले राष्ट्रिय टिमबाट अन्तिम पटक विश्वकप खेलेका थिए । तर स्पेनको यात्रा प्रिक्वाटर भन्दा अगाडि बढ्न सकेन । इनिस्टाले स्पेनको जर्सीमा १ सय ३१ खेलमा १३ गोल गरेका छन् ।

इनिस्टाले सन् २००६ मा स्पेनको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । बार्सिलोना एफसीमा २२ वर्ष बिताएका एनिस्टा गएको मे मा मात्रै जापानी क्लब भिस्सेल कोबेमा अनुबन्ध भएका थिए । उनले बार्सिलोनालाई विभिन्न ३२ वटा उपाधि दिलाएका छन् । १२ वर्षको उमेरमा नै बार्सिलोनामा आवद्ध भएका इनिस्टाले बार्सिलोनाको सिनियर टिमबाट  ६ सय ७४ खेल खेलेका छन् । 

सन् २०१० को विश्वकपको फाइनलमा अतिरिक्त समयमा नेदरल्याण्ड्सविरुद्ध गोल गर्दै इनिस्टाले नै स्पेनलाई उपाधि दिलाएका थिए । 

स्पेनका प्रशिक्षक फर्नान्डो हिएरोले इनिस्टा इतिहासकै महान खेलाडी भएको बताएका छन् । बार्सिलोनाबाट इनिस्टासँगै खेलेका चेल्सीका मिडफिल्डर सेस फेब्रेगास भन्छन्,  ‘इनिस्टाको बिदाई यसरी हुन्छ भन्ने लागेको थिएन ।’

रुससँगको खेल अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि पेनाल्टीमा गएको थियो । तर रुसी गोलरक्षकले कोके र इयागो आसपासको पेनाल्टी रोकेपछि स्पेनको रुस विश्वकप यात्रा टुंगिएको हो ।

सन्यासको घोषणा गर्दै इनिस्टाले भने, ‘स्पेनको लागि यो नै मेरो अन्तिम खेल थियो । एउटा अद्भूत यात्रा समाप्त भएको छ । कहिलेकाहीँ यस्तो अन्त्य हुँदैन कि जस्तो तपाईँले सपना देख्नुहुन्छ ।’
 
सन् २०१० र २०१२ को युरोकप जित्दा इनिस्टाको प्रदर्शन महत्वपूर्ण रहेको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया