पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की - पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोन उमेरले ८७ वर्षमा लाग्नुभयो । त्यसबेलाको पोखराको एक कालखण्डको साक्षीसमेत हुनुहुन्छ उहाँ । सन् १९३२ सालमा भारतको केरलमा जन्मनुभएको उहाँ १७ र्षको उमेरमा वि.सं २००६ सालमा पहिलो पटक नेपाल आउनुभएको थियो ।
प्रवीणता प्रमाणपत्र तह पढ्दै गरेका उहाँ अन्य साथीहरूसँग मिलेर कलेज बिदामा भारतका उत्तरी राज्य घुम्न निस्किनुभयो । उहाँले स्कुलमै पढ्दादेखि नै नेपालबारे धेरै विषयबस्तु थाहा पाइसक्नुभएको थियोे । नेपामाल हिमाल धेरै छ भनेर पढे पनि प्रत्यक्ष भने देख्न पाउनु भएको थिएन । नेपाल आउने वातारवरण भने त्यति सजिलो थिएन । चार जना साथीहरु मिलेर रक्सौलसम्म आउनुभयो तर त्यो बेलाको नेपालको बोर्डर पास गर्न अहिलेको जस्तो सहज भने थिएन । २००६ साल ताका नेपालमा राणाहरुकै शासन थियो ।
राणा शासनको समयमा नेपाल आउनको लागि राहदानीको आवश्यकता थियो । त्यो बेला जोनको टिमको हिमाल हेर्ने सपना राहदानीले रोकिदियो । उहाँको टोली त्यो बेला हेटौडा हुँदै भीमफेदीसम्म मात्र तय भयो । राहदानी नभएकै कारण त्यो समय भारत फर्कनुभयो । खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ पछि राहदानी बनाएर उहाँले नेपाल घुम्ने हुटहुटी २००९ सालमा पूरा गर्नुभयो । राहदानीसहितको उहाँको टोली बिनारोकटोक काठमाण्डौ आइपुग्यो । ‘त्यो बेलाको नेपाल आउन अहिलेको जस्तो गाडीमा सररर आउनु मकहाँ पाइन्थ्यो र ? पैदल नै हिँड्नुपथ्र्यो’, उहाँ पहिलो पटक नेपाल आउँदाको अनुभव सुनाउनुहुन्छ ।
आफूसँगै आएकामध्ये एक जना पहिला पनि काठमाण्डौ आइसकेकाले त्यहाँका दुई–चार जना मान्छेसँग पहिले नै चिनजान रहेछ । त्यसैले पनि उहाँहरुलाई खान बस्न पनि दुःख भने भएन । दुई चार दिन चिनजानकै व्यक्तिको घरमा बसेपछि भने उहाँहरु डेरा खोजेर बस्न थाल्नुभयो ।
पढाइमा सानैदेखि रुची राख्नुहुने जोन काठमाण्डौमा आएर पनि पढ्नुभयो । बसाइकै दौरानमा जागिर पनि खानुभयो । उहाँले जागिर खाँदै नै पढ्नुभयो । उहाँले त्यो बेलाको नेपाल नेशनल कजेल (अहिलेको शंकरदेव क्याम्पस)बाट एम.ए सम्मको पढाइ पनि सक्नुभयो ।
पोेखरा आउँदाको कथा भने बेग्लै छ उहाँको । एमए पढ्दै गर्दा एकपटक उहाँ सहयोगीको रुपमा पोखरा आउनुभएको थियो । पोखराको हावापानी, मौसम अनि सुन्दरताले त्यतिबेला नै उहाँलाई तानिसकेको थियो । एक रात पोखरा बसेर उहाँ काठमाण्डौ फर्कनुभयो । तर धित मरुञ्जेल पोखरा घुम्ने उहाँको रहर भने पूरा भएको थिएन ।
केही समयपछि पोखराकै शिक्षक विमलबहादुर थापा काठमाण्डौमा बीए पढ्न गए । उनले सर जोनसँग अंग्रेजी विषयको ट्यूसन पढेका थिए । २०१७ सालमा आफ्नै विद्यार्थी विमलबहादुर थापासँगै सर जोन फेरि पोखरा आउनुभयो । काठमाण्डौमा जागिर भएकाले उहाँ केही समय पोखरा घुमेर फेरि काठमाण्डौ फर्किनुभयो ।
त्यसबेला विमलबहादुर थापाका दाजु शिवबहादुर थापा पोखरा नगरका अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन समयमा पोखरामा दुइटा स्कुलबाट १३ जना विद्यार्थीले एसएलसी पास गरेका थिए । अध्यक्ष थापालाई १३ जना विद्यार्थीलाई बाहिर पढाउन पठाउन नपरोस् भन्ने भएकै कारण पोखरामा पनि क्याम्सप खोल्नुपर्छ भन्ने थियो । त्यो बेला शिक्षकको अभाव थियो । थापाले आफ्ना भाइलाई ट्युसन पढाएका जोनलाई पोखरा आउन निकै कर गर्नुभयो ।
काठमाण्डौमा जागिर त थियो, तर मन उहाँको पोखरामा थियो । पोखराबाट राम्रै जागिरको प्रस्ताव आएपछि उहाँ दोधारमा पर्नुभयो । सर जोन पछि नियुक्तिपत्र लिएर पोखरामै बस्ने गरी आउनुभयो । पोखरामा बसभन्दा पहिले जहाज आएको हो । उहाँलाई त्यो बेला पेश्की ९० रुपैयाँसहित जहाज भाडा ६४ रुपैयाँ दिइएको थियो । उहाँका लागि पालिखे चोकमा कोठाको समेत व्यवस्था भैसकेको रहेछ । पोखरा आएको भोलिपल्टैदेखि उहाँले नदीपुरस्थित तत्कालीन कन्या प्रावि अहिलेको कन्या क्याम्पसको एउटा कोठामा एसएलसी पास गरेका १३ जनालाई पढाउन सुरु गर्नुभयो । त्यो दिन थियो, २०१७ साल भदौ १७ गते । अंग्रेजी विषयमा दख्खल राख्ने उहाँको भागमा अंग्रेजीसँगै राजनीति शास्त्र र नेपाली पढाउने जिम्मामा पर्यो ।
त्यसबेलाको कन्या प्राविको एउटा कोठामा पढाइ राम्रै चल्दै थियो । कन्या प्राविको वार्षिकोत्सवको बेलामा बालिकाहरु पढ्ने स्कुलमा पुरुषहरु पढ्न केही असहज हुने भनाइ प्रहरीबाट आएपछि कहाँ जाने भन्ने समस्याले पिरोल्न थाल्यो । तर त्यो बेला पोखरा अहिलेको जस्तो भरिभराउ बस्ती भने थिएन । त्यसले पनि केही सहजता प्रदान ग¥यो । अहिलेको फूलबारी ब्यारेक भएको ठाँउ र नारायणथान गरी २ ठाँउमा जग्गा हेरिसकेपछि नारायणस्थान उपयुक्त ठानेर नारायणस्थानबाट पढाइ सुरु गरिएको थियो । नारायणस्थानमा हुँदा नै तत्कालीन नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका सूर्यप्रसाद उपाध्यायले २०१७ मंसिरमा औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको उद्घाटन नारायणथानमै गरिदिनुभएको हो ।
उहाँ २०१८ सालमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भएको सम्झनुहुन्छ । त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो । १८ सालमा विद्यार्थी बढेर १३ बाट १६ जना पुगिसकेको थियो । १६ जनाले परीक्षा दिएकोमा १३ जना पास भएको उहाँ सम्झनुहुन्छ ।
नारायणथानमा खुल्ला चौरमा जाडोको समयमा पढाउन कठिन भइसकेको थियो । त्यसपछि फेरि नयाँ ठाँउको खोजी हुन थाल्यो । नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र उनीलगायत अन्य व्यक्तिले भीमकालीन पाटन बगरमा २०१९ वैशाख १ गतेदेखि एउटा छाप्रो बनाएर पढाउन सुरु गर्नुभयो । सुरुवातमा मानविकी मात्र पढाइ हुने क्याम्पसमा मानविकी हुँदै विज्ञान र कमर्स पनि उहाँका बलबुताले सुरु भएको हो ।
त्यो बेला प्रत्येक विद्यार्थीले घर–घरबाट खर ल्याएर आफैले छाप्रो बनाएर पढाइ सुरु गरेको उहाँ अझै पनि सम्झनुहुन्छ । ‘अहिले पनि बेला–बेलामा क्याम्पस पुगेकै हुन्छु’, उहाँ भन्नुुहुन्छ, ‘भीमकाली पाटन अहिलेको पृथ्वी नारायण क्याम्पस भएको ठाँउमा नयाँ नयाँ बिल्डिङ्ग बने । तर त्यो चौरमा रहेका रुख हरु जुन विद्यार्थीहरुले एक–एक जनाले रोपेका हुन् त्यो भने त्यस्तै छ ।’
३५ वर्षसम्म पृथ्वीनारायण क्याम्पसमा पढाउनुभएको उहाँ बीचमा अन्य ठाँउमा पनि करारमा जानुभयो । विश्वविद्यालयको अनुमतिमा उहाँ साँगामा प्रिन्सिपल भएर सात वर्ष पढाउनुभयो । त्यहाँको भौतिक तथा शैक्षिक स्तरोन्नतिले गति लिएपछि उहाँ पुनः उहाँले पृथ्वीनारायण क्याम्पस पढाउनुभएको हो ।
त्यहाँ मात्र होइन, जनप्रिय क्याम्पस पनि उहाँको अर्को प्रिय थलो बनेको थियो । उहाँ नेपाल बसाइबाट बेला–बेलामा आत्तिनुभएको थियो । तर विद्यार्थीको सुन्दर भविष्य देखेर कहिल्यै विचलित हुनु भएन । उहाँले नेपाली नागरिकता पनि लिइसक्नुभएको छ ।
भारतको केरलबाट नेपाल आइसकेपछि बीच–बीचमा भने भारत आउने जाने चलिरहन्थ्यो उहाँको । आउजाउकै क्रममा २०१८ सालमा उहाँको विवाह एलियाना जोनसँग भयो । बिस्तारै उहाँ पनि जर्ज जोनसँगै नेपाल आएर नेपालमै घर बनाएर बस्न थाल्नुभयो । उहाँले २०५२ सालमा अवकाश प्राप्त गर्नुभयो । तर अझै पनि पढ्ने र पढाउने क्रम जारी नै उहाँको । एलियानाले पनि पढाउनुहुन्थ्यो तर उहाँ पनि अहिले अवकाश जीवन बिताइरहनुभएको छ ।
‘आफूले पढाएका धेरै व्यक्तिहरु देशको प्रतिष्ठित ठाउँमा पुग्दा खुशी लाग्छ’, उहाँले भन्नुभयो । उहाँले धेरैलाई शिक्षाको ज्योति छर्नुभएको छ । ट्यूसन पढाउने विद्यार्थीलाई समेत जोड्ने हो भने हालसम्म लाख बढी विद्यार्थीलाई पढाइसक्नुभएको छ उहाँले । भारतको केरलबाट नेपाल आएर लाखौँ विद्यार्थीको भविष्य कोेर्ने जोन अहिले पनि पढाइमा त्यतिकै तल्लीन हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।