सात वर्षमा अर्बाैको कार्बन बेचिँदै

 असार १९, २०७५ मंगलबार ५:४७:३९ | रासस
unn.prixa.net

काठमाडौं - वन तथा वातावरण मन्त्रालयले आगामी सात वर्षमा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बन विश्व बैंकसँग प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना अघि बढाएको छ । मन्त्रालयबाट तराईका जिल्लाका लगि तयार गरिएको कार्बन उत्सर्जन न्यूनीकरण दस्तावेजलाई विश्व बैंकअन्तर्गतको कार्बन कोषको यही असार ६ देखि ८ गतेसम्म फ्रान्सको पेरिसमा बसेको बैठकले स्वीकृत गरेको छ ।

स्वीकृतिसँगै नेपालले १० वर्षदेखि वन क्षेत्रबाट गरिने कार्बन व्यापारको कार्यक्रम रेड प्लसको तयारी चरण सम्पन्न भएको छ । यसपछि रेड प्लसको कार्यान्वयन र व्यापार चरण शुरु हुने मन्त्रालय, रेड कार्यान्वयन एकाइ केन्द्रले जनाएको छ ।

दस्तावेजअनुसार कार्यान्वयन चरणमा आगामी दश वर्षमा रौतहटदेखि कञ्चनपुरसम्मका तराई भूपरिधिका १३ जिल्लामा तीन लाख ३६ हजार हेक्टर सामुदायिक तथा साझेदारी वनको दिगो एवं वैज्ञानिक व्यवस्थापन तथा शासकीय सुधार गरिने केन्द्रका प्रमुख डा सिन्धु ढुंगानाले बताउनुभयो । दुई लाख हेक्टर राष्ट्रिय वनलाई सामुदायिक तथा साझेदारी वनमा हस्तान्तरण गरिने, १० हजार हेक्टर विपन्नमुखी कबुलियती वन हस्तान्तरण गरिने तथा ३० हजार हेक्टरभन्दा बढी नयाँ निजी वन लगाउन प्रोत्साहन गरिनेछ ।

यसबाहेक झण्डै एक लाख बायोग्यास तथा सुधारिएको चुलो वितरण गरिने, एकीकृत भूउपयोग योजनानुसार मात्र वनको जग्गा उपयोग गर्ने र उक्त भूपरिधिमा हाल रहेका छ  संरक्षित क्षेत्रको दिगो व्यवस्थापनबाट जैविक विविधताको संरक्षण गर्ने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।

सात कार्यक्रम सञ्चालन गर्दा तराई भूपरिधिका वनमा दश वर्षमा झण्डै तीन करोड ४० लाख मेट्रिक टन थप कार्बन सञ्चित हुने अनुमान गरिएको छ । कार्बन सञ्चितीबाट गरिने व्यापारसँगै ती कार्यक्रमबाट काठको उत्पादन उल्लेख्य रुपमा वृद्धि हुनेछ । यस कार्यले झण्डै १० हजार पूर्ण रोजगारी सिर्जना हुने, समुदायमा आधारित वनका साथै वन क्षेत्रको समग्र शासकीय सुधारमा टेवा पुग्ने, जैविक विविधता संरक्षणमा टेवा पुग्ने र नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु प्रारूप महासन्धिमा स्वेच्छिक रुपमा घोषणा गरेको हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

साथै वन व्यवस्थापनमा महिला, आदिवासी जनजाति, मधेशी, दलित, अन्य वञ्चितीमा परेका समुदाय र निजी क्षेत्रको उल्लेख्य सहभागिता रहने तथा वन व्यवस्थापन र कार्बन व्यापारबाट प्राप्त हुने लाभमा समन्यायिक पहुँच पुग्ने प्रतिबद्धतासमेत गरिएको छ ।

असार २८ गते गैंँडा चीनतिर

वन मन्त्रालयले यही असार २८ गते एक जोडी गैंँडा उपहारस्वरुप चीन पठाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को २०७३ असार २६ को निर्णयअनुसार नेपालले दुई जोडी एकसिंगे गैँडा चीनलाई उपहार लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हाल चितवन राष्ट्रिय निकुञ्जमा दुई जोडी गैंँडा नियन्त्रणमा लिएर चीन पठाउने सम्बन्धमा आवश्यक तयारी गरेको छ ।

त्यसमध्ये एक जोडी गैंँडा चीन पठाउने तयारी रहेको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । उक्त गैंडा चितवनबाट काठमाडौँसम्म ट्रकमा ल्याइने र काठमाडौँबाट कार्गाे विमानमा चीन लैजाने तयारी छ । अर्काे जोडी गैंँडा आगामी साउन दोस्रो हप्तासम्म चीन पठाइने तयारी विभागले गरेको छ । यसरी लैजाने गैंँडाको व्यापारिक प्रयोजन नगरिने र यस कार्यमा लाग्ने सम्पूर्ण खर्च चीनले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।  

 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सुशिल प्रसाद पाण्डे

    July 3, 2018, 3:18 p.m.

    फ्रि मा पाएसि कस्ले लैजान्न बन्यजन्तु । हाम्ले बेचेको भन्न लाज लाग्या होला । तर हाम्लेनि कुरो बुझियो । गैंडा त सकिदैन ,गरिब नेपालि परियो ,बरु हाम्लाइनि एक जोडि कालिज मिलाइदिए हुने । सारै पाल्न मन लागेकोले । लागेको खर्च हामि दिन मन्जुर गर्छम ।

  •  0 Reply

तपाईको प्रतिक्रिया