९ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स आयो

 जेठ ७, २०७६ मंगलबार २०:२:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै  - वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन् ।

गएकाे आवको तुलनामा चालू आवको नौ महिनामा २० दशमलव नौ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स पाँच दशमलव ६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महिनाको अवधिमा खुद ट्रान्सफर आय २० दशमलव नौ प्रतिशतले वृद्धि भई सात खर्ब ४६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव तीन प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव तीन  प्रतिशतले घटेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

अघिल्लो वर्षको त्यसै अवधिमा यस्तो सङ्ख्या ६ दशमलव ८ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४ दशमलव ६ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या तीन दशमलव एक प्रतिशतले घटेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया