सहुलियत कर्जाको लागि छनोट भएका युवालाई बैंकमा सम्पर्क गर्न बोर्डको आग्रह

 जेठ ८, २०७६ बुधबार ७:२६:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केर सहुलियत कर्जाको लागि सूचीकृत भएका युवालाई बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले सूचना निकालेर सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो । सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले आवेदन दिएकोमा तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिला छनोट भएका थिए ।

सहुलियत कर्जाका लागि सिफारिशमा परेकामध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका युवा रहेका छन् । सरलकर्जा माग गर्नेमा मलेसियाबाट फर्केका छ हजार ४०८, साउदीबाट फर्केका चार हजार ३९२, यूएईबाट फर्केका दुई हजार ६१७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । 

बोर्डले सूचीकरण गरेका व्यक्तिको नामावली 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया