उनीहरु भारी बोकेरै सगरमाथा चढिरहन्छन्

 जेठ ११, २०७६ शनिबार ६:२४:४४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फोर्चे  गाउँ । जहाँका धेरै घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापर मात्र उत्पादन हुने त्यो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पछिल्ला दिनमा महिलाहरु पनि हिमालतिर जाने क्रम बढेको छ ।

गाउँमै खुलेको खुम्बु क्लाइम्बिङ सेन्टरले अहिले झनै त्यहाँका हरेक युवा युवतीलाई हिमालमा काम गर्न डोर्‍याउँछ । सेन्टरले आरोहणसम्बन्धी तालिम दिन्छ । अनि बाध्यता त छँदैछ । कतिपय शोखका कारण पनि हिमालमा काम गर्न पुग्छन् । यसलाई केहीले आफ्नो गाउँको शानका रूमा लिएका छन् त केहीले शिक्षा क्षेत्रमा उनीहरू पछि पर्ने संकेतका रुपमा हेर्ने गरेका छन् ।

पाँचपटक सगरमाथाको सफल आरोहण गरिसकेका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार यसबेला हिमालमा काम गर्न ८० भन्दा बढी युवायुवतीहरु निस्किएका छन् । गाउँका झण्डै ७० जना त सगरमाथाको शिखर नै पुगिसकेका छन् । फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ । यस गाउँमा झण्डै ९० परिवारको बसोबास छ ।

हिमालको काखमा एउटा फाँटैफाँटको बस्ती छ । सबै घरमा एउटै रङको छानो, हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । गाउँमा रहेको आधारभुत तहको पढाइ सकेपछि धेरैजसोको पढाइ यात्रा टुङ्गिएर हिमाल यात्रा सुरु हुन्छ । 

सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् । ‘हिमालको काम एकदमै खतरा छ, कुन बेला के हुन्छ केही ठेगान छैन, कमाउने माध्यम केही छैन, अनि हिमाल नगएर कसरी परिवार पाल्नु र ?’  तीन पटक सगरमाथाको शिखर चुमेका फोर्चेकै आङ छिरिङ शेर्पाले भन्नुभयो ।

यहाँ सामान्य चामलको प्रतिकिलो २३० रूपैयाँ पर्छ । नुन पनि एक किलोको १८० रुपैयाँभन्दा बढी तिर्नुपर्छ । महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब ४/५ लाख रुपैयाँले परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेहरूले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ ।

कस्तुरी, डाँफेलगायतका जीवजनावर गाउँमै नाच्ने मनमोहक यो ठाउँमा काटमार गरिँदैन । परम्परागत नावा पद्धतिबाट गाउँको शासन चल्छ । अहिले स्थानीय सरकार पनि क्रियाशिल छ । तथापी बनजंगलमा चरण खुल्ला गर्ने, बाली लगाउने, काठदाउरा संकलन गर्ने जस्ता काममा नावाहरुकै भूमिका हुन्छ ।

सगरमाथा आरोहण सुरु हुनुभन्दा पहिले झनै कष्टकर जीवनयापन गरिरहेका फोर्चेबासीहरु हिमालमा पर्यटक आउन थालेपछि कम्तीमा काम चाहिँ पाएको बताउँछन् । तथापी जीवन जोखिममा पारेर कहिलेसम्म हिमाल गइरहने चिन्ता धेरैमा छ ।

कमाउने मानिस हिमालमा केही भएमा गाउँमा कसरी जीविका चल्छ ? चिन्ता व्यक्त गर्छन् उनीहरु । एक पटक दृष्य हेर्ने र सहयोगी लिएर घुम्नेहरुलाई हिमाल सुन्दर भए पनि त्यही हिमालमा काम गरेर जीविका गर्नु सजिलो नभएको उनीहरु बताउँछन् । तै पनि पेशा हो, त्यसैले भारी बोकेरै सगरमाथा लगायतका हिमालहरु चढिरहन्छन् उनीहरु । 

अन्तिम अपडेट: भदौ १८, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया