एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - मेहनत थियो । रचना, गायन र संगीतमा मिठास थियो । सलल बगेको कञ्चन संगीतले आफ्नै मौलिकताको छुट्टै पहिचान बनाउँथ्यो । त्यसैले त्यतिबेला संगीतको स्वर्ण युग थियो । जीवन्त संगीत थियो ।
गायिका ज्ञानु राणालाई भेट्दा, उहाँको अनुहारमा संगीतका यिनै रेखा तछाडमछाड गरेर दौडिएझैँ लाग्छ । हिजोआज हरेक दिन नेपाली कला साहित्य क्षेत्रमा आएको बनावटी र नक्कल झक्कलले संगीतको प्रेममा रहेकी ज्ञानु राणालाई चिन्तै चिन्ताले सताउँछ । तिनै चिन्ताको रेखा अनुहारमा प्रष्टै छचल्किन्छ ।
१४ वर्षको उमेरमा गीत रेकर्डिङ
घरमा सांगीतिक माहोल । गीत सुन्दिनँ, गाउँदिनँ भन्दा पनि नमिल्ने । तर नशा नशामा संगीत भरिएकै भएर होला ज्ञानु राणालाई गीत नसुनौँजस्तो कहिल्यै लागेन ।
लोक गीतका सर्जक बुवा धर्मराज थापा, घरमा हरेक दिन शिष्यलाई गीत र संगीत सिकाउने । ज्ञानु राणालाई पनि सुन्दिनँ भन्ने कहिल्यै भएन । अरुलाई सिकाएको हेर्दाहेर्दै उहाँको मनको तलाउमा संगीत भरियो र एक बिहान त्यो प्रस्फुटित भयो ।
‘संयोगले बुवाले त्यो गीत सुन्नुभयो, अनि छक्क परेर सोध्नुभयो, कहिले सिकेको ज्ञानु ?’ ज्ञानु राणा पुराना दिन सम्झँदै भन्नुहुन्छ, ‘मैले केही सिकेको छैन बुबा । हजुरले सिकाएको हेर्दाहेर्दै जानेकी हुँ भनें ।’
बुवाले त्यसपछि गीत गाउँछौं भन्नुभयो, मैले गाउँछु भन्नासाथ उहाँले गीत तयार पारिदिनुभयो ।
'जानी कहाँ हो राजै बाटो देखाइदेउ
फर्केर आउँला कि दिन बरिलै...’
त्यतिबेला बुवा रेडियो नेपालमा लोकगीत प्रबन्धक हुनुहुन्थ्यो । यो गीत गाएसँगै राणाले रेडियो नेपाल प्रशासन र त्यहाँ काम गर्ने अग्रज कलाकारको माया पाउनुभयो । सबैले स्याबासी दिए । सँगै उहाँले २० रुपैयाँ पनि पारिश्रमिक पाउनुभयो ।
त्यसपछि उहाँले ‘चौतारीमा मै बसी', 'तिम्रो हाम्रो भेट भाको दिन’ लगायत गीत गाउनुभयो ।
सधैं बुबासँगै गीत सिक्ने ज्ञानु राणाले बुबा धर्मराज थापाको संकलनमा धेरै गीत गाउनुभयो र गाउँदै पनि हुनुहुन्छ । बुवा धर्मराज थापाको निधन भए पनि उहाँको संकलनको संरक्षणमा हुनुहुन्छ, ज्ञानु राणा ।
‘नारायण गोपालले सँगै गीत गाउ भन्दा जोक गरेजस्तो लाग्यो’
बुवाको छायाँजस्तै भएर रेडियो नेपाल जानु आउनु ज्ञानु राणाको दैनिकी नै बन्यो । उहाँको लोक भाकामा मिसिएको सुमधुर स्वरले स्वर सम्राट नारायण गोपाललाई पनि मोहित तुल्यायो । त्यसअघि कहिल्यै लोक गीत नगाएका आफूभन्दा अग्रज नारायण गोपालले एक दिन ज्ञानु राणालाई सँगै गीत गाउने प्रस्ताव राख्नुभयो । ज्ञानु राणालाई यो प्रस्ताव सपना हो कि विपना भने जस्तो भो । आफूलाई विश्वास नलागे पछि उहाँले नारायण गोपाललाई सोधिरहनु भयो, 'साँच्चै गीत गाउने हो ?'
नारायण गोपालबाट हो भन्ने जवाफ पाएपछि उहाँ फुरुक्क हुनुभयो । बुवासँग खुशी साट्दै गीत लेखिदिन आग्रह गर्नुभयो । र तयार भयो यो गीत-
'सिरीमा सिरी नि कान्छा बतास चल्यो
बाबरी फूलको बासना सुन मेरो निरमाया...'
त्यतिबेला नारायणगोपालललाई जतिबेला पनि गीत रेकर्डिङका लागि रेडियो नेपालको स्टुडियो खाली हुन्थ्यो । यो गीतको बासना यत्रतत्र सर्बत्र फैलियो । लोकगीतबाट गायन यात्रा सुरु गरेकी ज्ञानु राणाले बिस्तारै आधुनिक, शास्त्रीय र लोक पप गाउन थाल्नुभयोे । गीतसंगीतको पोखरीमा वास्तविक छलाङ मार्न उहाँले छ वर्ष त शास्त्रीय संगीत नै सिक्नुभयो ।
त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर पाउनुभयो । त्यहाँ उहाँले लोक, आधुनिकलगायत सबै खालका गीत गाउनु पर्थ्यो । बिस्तारै उहाँलाई आधुनिक गीतको स्वाद बस्न थाल्यो । सँगै काम गर्ने संगीतकार शम्भुजित बाँस्कोटाले उहाँलाई एउटा गीत दिनुभयो । जुन लोकप्रिय भयो ।
'कसैले बुझेन न मेरो मनको बहलाई
खहरे खोलो झरे झैं आँखाको बहलाई
यो मेरो मायालाई...'
लोकले मन पराएपछि आधुनिक र लोकपप गीतमा उहाँको लगनशीलता बढ्यो । 'मान्छेको माया यहाँ खोलाको पानीजस्तै', 'च्याङबा हो च्याङबा', 'गीत मेरो जीवन', 'छोडी जाने मायालु' जस्ता गीत यसको उदाहरण हुन् ।
दिन बित्दै गयो । उहाँले आफ्नो यौवन र जवानी संगीतमा नै बिताउनुभयो । उहाँलाई पत्तै भएन कतिबेला फूलेँ, फक्रिएँ । अहिले उहाँलाई लाग्छ, ‘ओहो मेरो जवानी मैले गीतैमा बिताएछु ।’
बिहे पछि सांगीतिक यात्रा कठिन बन्यो, तर रोकिएन
एकान्तमा रमाउनु ज्ञानु राणाको विशेषता हो । जब मन रुन्छ, उहाँको गला पनि रुन्छ अनि सुरु हुन्छ विरहीका भाका । जब सुख हुन्छ, गीत पनि त्यस्तै आउँछ । त्यसैले उहाँलाई संगीत नै आफ्नो सच्चा साथी जस्तो लाग्दछ ।
एसएलसीपछि थप शिक्षाका लागि उहाँ बंगलादेश जानुभयो । साथीभाइसँग बंगाली भाषा सिक्दै उहाँले बंगाली गीत पनि गाउन थाल्नुभयो । संगीतले भरिएको मन मस्तिष्कलाई भूगोल र भाषाले छेक्न सकेन । चार वर्षको अध्ययनका क्रममा उहाँले बंगाली गीतबाट पनि आफ्नो परिचय त्यहाँ स्थापित गर्नुभयो ।
गीत मात्रै होइन, बंगलादेशको बसाइँका क्रममा मनको साथी अर्थात जीवनसाथी पनि पाउनुभयो । नेपाल आएपछि थापाकी छोरी राणा परिवारकी बुहारी बन्नुभयो । बिहेपछिका दिन साँगीतिक यात्रामा धेरै काँडा तेर्सियोे । तर, ती काँडालाई पन्छाउँदै राणा अघि बढिरहनुभयो ।
राती ८, ९ बजेसम्म रेकर्डिङमा व्यस्त हुनुहुन्थ्यो । त्यतिबेला घर परिवार र व्यवहारमा परेका दुःख र संघर्ष अहिले सम्झनै मन छैन । ‘घरमा के-के हुन्थ्यो, केही थाहा र मेसो पाउँदिन थिएँ,’ उहाँ भन्नुहुन्छ ।
राणा परिवारमा अनुशासनका रेखा कोरिए । तर 'खाने मुखलाई जुंगाले छेक्दैन' भने जस्तै अनेक बाहना र जुक्ति निकालेर उहाँले आफ्नो गायन यात्रालाई टुंग्याउन दिनु भएन । ‘जिन्दगीमा मैले कहिल्यै मोजमस्ती र रमाइलो गर्ने भन्ने नै थाहा पाइनँ । मिठो-मिठो खाने, राम्रो लगाउने, साथीभाइसँग घुम्न जाने अहँ केही पनि भएन’ उहाँ सम्झनुहुन्छ ।
जस्तोसुकै कठिन समयमा पनि संगीतकै माला बुनेर संगीतमा नै बिलीन हुनुभयो । राणा भन्नुहुन्छ, ‘हिजो आज एकछिन घोत्लिन्छु, अहो! मेरो जवानी त उहिल्यै पो सकिसकेछ ।’
जब बुवाको निधन भयो
‘हरियो डाँडामाथि हलो जोत्ने साथी...’ बोलको गीतले लोकप्रिय जनकविकेशरी धर्मराज थापाको निधन (२०७१ साल) ले ज्ञानु राणाको सांगीतिक यात्राको मेरुदण्ड नै भाँचिए जस्तो भयो । संगीतको मेरुदण्डलाई गुमाउँदा उहाँलाई ठूलो चोट पर्याे । जीवनमा मात्रै नभएर उहाँ संगीतमा पनि टुहुरो बन्नुभयो । आँखाभरी आँशु पार्दै ज्ञानु भन्नुहुन्छ, ‘बुवाको भौतिक शरीर नभए पनि उहाँको आशीर्वाद सँधै मसँगै छ ।’
हातखुट्टा चलुन्जेल 'हाईहाई गर्नेहरु जब बुवा विरामी पर्नुभयो, बिस्तारै बाईबाई' मा ओइरिए । कलाकारको योगदान र उनीहरुको जीवनशैलीमा राष्ट्रले इज्जत नै गर्न नसक्दा नजिकका साथीभाइ पनि टाढिए । ‘मन्त्री, नेता, कार्यकर्ता भए उपचार पाइन्छ । तर सच्चा कलाकारको उपचार नपाएर मृत्यु हुन्छ । बुबा बिरामी पर्दा यही कुरा मैले भोग्नुपर्याे,’ ज्ञानु राणाले भन्नुभयो ।
उहाँलाई अहिले पनि राष्ट्रले कलाकारको योगदानको कदर गर्न नजानेको या नगरेको जस्तो लाग्छ । त्यसैले जीवनको ७० औँ वर्षमा उहाँलाई आफू ओझेलमा परेको गायिका जस्तै लाग्छ । ज्ञानु राणाको यो विचारसँग वरिष्ठ संगीतकार दीपक जंगमको विचार पनि मेल खान्छ । दीपक जंगमलाई पनि सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी ज्ञानु राणाको कदर भए जस्तो लाग्दैन ।
ज्ञानु राणालाई आमाको दूधको धाराभन्दा बुवाको अभिभारा सम्हाल्नु छ । त्यसैले अहिले उहाँ नयाँ गीतमा भन्दा बुवाको पुराना गीत रेकर्डिङमा व्यस्त हुनुहुन्छ ।
उमेरसँगै शोख पनि फेरियो
बाल्यकालमा ब्याडमिन्टन खेल्न मन पर्ने ज्ञानु राणाको शोख उमेरसँगै फेरियो । छोरी मान्छेले 'यसो गर्नु हुन्छ, यसो गर्नु हुँदैन' लगायतले जानी नजानी उहाँको शोखको प्रभाव पारिरह्यो । उमेर सानो छँदा ब्याडमिन्टन खेल्ने ज्ञानु राणा अहिले पुस्तकका पाना पल्टाउन र पढ्नमा मस्त हुनुहुन्छ ।
मुड अनुसारका गीत गाउनु, धार्मिक कार्यक्रममा भाग लिनु र किताब पढ्नु उहाँको अहिलेको दैनिकी हो ।
४० वर्षको उमेरदेखि माछामासु छोड्नुभयो । ‘खाना बनाउन खासै छैन, रुची । तर खाने रुची त कति हो कति छ,’ हास्ँदै उहाँले भन्नुभयो । शाकाहारी खानाले मन र मस्तिष्कलाई शान्त राख्ने हुँदा माछामासु छोडेको उहाँ बताउनुहुन्छ ।
१५ सय भन्दा धेरै गीत गाएकी ज्ञानु राणालाई आफैँले गाएका कतिपय गीत आफैँंलाई चित्त बुझेका छैनन् । ती गीतलाई फेरि पनि गाउने प्रयासमा हुनुहुन्छ उहाँ । बिहान ४ बजेदेखि हार्मोनियममा रियाज थाल्ने बानी उमेर बढे पनि रोकिएको छैन । अर्को जन्ममा पनि संगीतमा नै दिनचर्या बनाउने राणाको चाहना छ ।
तर हिजोआज चार भित्ताभित्र बसेर तयार पारिने लोकगीतले उहाँको मन कटक्क पार्छ । नेपाली संगीत के हो, कहाँबाट आयो भन्ने कुरा कतै अब शोध गर्नुपर्ने अवस्थामा पो पुग्ने हो कि भन्ने चिन्ता छ ।
नेपाली सांगीतिक क्षेत्रकी जिउँदो इतिहास राणालाई आफ्नो देशको डाँडाकाँडा, भीर पखेराले आफैँलाई सुसेलेर बोलाए जस्तो लाग्दछ । अनि उहाँ त्यही सुसेलीको धुनमा आफ्नो स्वर मिसाउँदै आफैँलाई भुल्नुहुन्छ । काठमाण्डौ कपनको घरको बार्दलीमा साँझ बिहान डाँडापाखालाई हेर्दै गुनगुनाउनुहुन्छः,
डाँडाकाँडा भइसक्यो हरियो
पूर्व जाने साइतै गरियो
सल्लै हो जोवन कल्लाई हो
चौतारीमा मै बसे होला कि
बरर्को डाली नुगेर छोला कि
सल्लै हो जोवन कल्लाई हो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।