मार्सीधान राेप्न स्थानीय जनप्रतिनिधि नै जुटे

 जेठ १३, २०७६ सोमबार १२:१७:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – हिमा गाउँपालिका-१ को अगुवाइमा मार्सी धानको रोपाइँ सुरु गरिएको छ । कालीमार्सी र रातीमार्सी धानको संरक्षण गर्न जनप्रतिनिधिहरु नै रोपाइँमा जुटेका छन् । 

सिँजा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट, पाँचसयलगायत जिल्लाभरी नै रोपाइँ सुरु भएको छ । कृषकहरु अहिले खेतमा लगाइएको जौ काटेर रोपाइँमा व्यस्त छन् । 

हिमा गाउँपालिकाको सेयर गाउँमा वडा नम्बर १ का वडाध्यक्ष वीरबहादर शाही, वडा सदस्यहरु पदबहादुर शाही, रतिमान कामी, बाटुली शाही, कर्मचारी मानबहादुर शाहीसहितको टोलीले मार्सी धानको रोपाइँ सुरुवात गरेको हो । 

‘मार्सी चामल हाम्रो पोसिलो खाना र पहिचानसँग जोडिएको हुनाले यसको सरंक्षण गर्ने उद्देश्यका साथ जिल्लाका सबै स्थानमा जनप्रतिनिधिहरुको सहभागितामा रोपाइँ सुरु गरिएको हो,’ वडाध्यक्ष वीरबहादुर शाहीले भन्नुभयो । यसका साथै विषादी निषेध गर्ने र जैविक मलका उत्पादन गर्न आर्थिक सहयोगका लागि गाउँपालिका र सरोकारवाला निकायहरुसँग पहल गर्ने उहाँले बताउनुभयो । 

पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि मार्सी धान रोप्ने किसानको संख्या पनि बढेको छ । जेठको पहिलो हप्तादेखि धान रोप्न सुरु गरिएको भए पनि अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने गरिन्छ ।   

चिसो मौसमका कारण समयमै धान नरोपे समयमा नपाक्ने भएकाले जेठको पहिलो साताबाटै रोपाइँ सुरु गरिन्छ र असार पहिलो हप्ताभित्रै सक्ने गरी रोपाइँ गरिन्छ । यसैगरी कार्तिकको पहिलो हप्तादेखि दोस्रो हप्तासम्ममा रोपिएको धान भित्र्याउने गरिन्छ । यो धानको उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ ।

मार्सी धानको रोपाइँमा गीत गाउँदै नाचेर रमाइलो गर्ने चलन छ । कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोप्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा ‘चोपाई’ समेत भनिन्छ । 

यसैगरी विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान पनि जुम्लामा नै पर्दछ । पछिल्लो समय जुम्लामा धान रोपाइँ पनि बढ्दै गएको छ ।  


 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Amar bahaur shahi

    May 27, 2019, 4:40 p.m.

    हिमा गाउँपालिकाको सेयर गाउँका वडाध्यक्ष वीरबहादर शाही, वडा सदस्यहरु पदबहादुर शाही, रतिमान कामी, बाटुली शाही, कर्मचारी मानबहादुर शाहीसहितको टोलीले मार्सी धानको रोपाइँ सुरुवात गरेको हो । भएकोमा वास्तविक ठेगाना हिमा गाउँपालिकाको वडा नं-१ वड्कीको सेयर गाउँमा वडाध्यक्ष वीरबहादर शाही, वडा सदस्यहरु पदबहादुर शाही, रतिमान कामी, बाटुली शाही, कर्मचारी मानबहादुर शाहीसहितको टोलीले मार्सी धानको रोपाइँ सुरुवात गरेको हो । हुनु पर्ने ।

  •  0 Reply

तपाईको प्रतिक्रिया