कोलम्बियालाई पेनाल्टीमा हराउँदै ईंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

 असार १९, २०७५ बुधबार ५:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रुसको स्पार्टाक एरिना रंगशालामा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो गरिएको हो ।
 
पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई खेलाडीको पेनाल्टी गोल हुन सकेन । कोलम्बियाका आन्द्रेस युरिवको पेनाल्टी क्रसबारमा लागेको थियो भने कार्लोस बाक्काको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए ।
 
कोलम्बियाका कप्तान रामाडेल फाल्काओ, लुइस मुरियल र जुहान कार्डाडोले गोल गरेका थिए भने इंग्ल्याण्डका कप्तान ह्यारी केन, मार्कोस राशफोर्ड, केरन ट्रिपियर र इरिक डायरले गोल गरेका थिए । जोर्डन हेण्डरसनको प्रहार आर्सनलका कोलम्बियाली गोलरक्षक डेभिड रामिरेजले बचाएका थिए ।
 
यसअघि विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १-० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस सान्चेसले डिबक्सभित्र इंग्लिस कप्तान केनलाई फल गरेपछि इंग्ल्याण्डले खेलको ५७औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।
 
तर, निर्णयमा आपत्ती जनाउँदै कोलम्बियाली खेलाडीले लामो समयसम्म रेफ्रीसमक्ष अपील गरेका थिए । तर रेफ्रीले निर्णय परिवर्तन गरेनन् ।
 
खेल करिव करिव इंग्ल्याण्डको पक्षमा गइसकेको थियो, इंग्लिस समर्थकले खुसियाली मनाउन सुर गरिसकेका थिए । नियमित पनि ५ मिनेट थपिएको इन्ज्यूरी समयको तेस्रो मिनेटमा जुहान कुआड्रार्डोको कर्नरमा स्टार डिफेण्डर यारी मिनाले गोल गरी खेलमा शनशनीपूर्ण बराबरी गरे । कोलम्बियाका लागि मिनाले पछिल्लो तीन खेलमा लगातार गोल गरिरहेका छन् ।
 
इंगल्याण्डले कोलम्बियालाई केहि दवावमा राखे पनि पहिलो हाफमा गोल गर्न असमर्थ भएको थियो । विश्वकपमा इंग्ल्याण्डले इन्ज्यूरी समयमा गोल खाएर खेलको नतिजामा असर परेको यो दोस्रो पटक हो । यसअघि सन् २००६ मा पनि स्वीडेनले इन्ज्यूरी समयमा गोल फर्काएको थियो ।
 
इंग्ल्याण्डले विश्वकपमा सन् १९९० यता तेस्रो पटक नकआउट खेल जितेको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया