युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – हरेक वर्ष नेपाल आउने विदेशी पर्यटक बढे भनेर सरकारी र निजी क्षेत्र दङ्ग भैरहँदा आम्दानी भने घटेको पाइएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणले पर्यटक बढे पनि आम्दानी भने घटेको देखाएको छ ।
सन् २०१८ मा स्थलमार्ग हुँदै भारतबाट आउने पर्यटकबाहेक नेपालमा ११ लाख ७३ हजार ७२ जना पर्यटक आएका थिए । यो संख्या सन् २०१७ को तुलनामा २५ प्रतिशतले धेरै हो । तर पर्यटक बढे पनि उनीहरुले नेपालमा गर्ने खर्च र बसाइ अवधि भने घटेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड रुपैयाँ विदेशी मुद्रा आम्दानी भएकोमा यो आर्थिक वर्षको फागुनसम्म जम्मा ४७ अर्ब ६९ करोड रुपैयाँ विदेशी मुद्रा आम्दानी भएको छ । यो वर्ष ४७ अर्ब रुपैयाँबाट आम्दानी केही बढ्न सक्छ, तर पर्यटकीय सिजन सकिएकाले पोहोरको आम्दानीलाई भेटाउन भने मुश्किल देखिन्छ ।
पर्यटकको नेपाल बसाइ र दैनिक औसत खर्च पनि घटेको छ । सन् २०१७ मा नेपाल आउने पर्यटकले औसत दैनिक खर्च ५४ डलर रहेकोमा सन् २०१८ मा ४० डलरको हाराहारीमा झरेको छ । यस्तै सन् २०१७ मा पर्यटकको नेपाल बसाइ औसतमा १२ दशमलव ६ दिन रहेकोमा सन् २०१८ मा घटेर १२ दशमलव ४ दिनमा पुगेको छ ।
६० प्रतिशत पर्यटक मनोरञ्जनका लागि नेपाल आउँछन्, सबैभन्दा धेरै लुम्बिनीमा
सन् २०१८ मा ११ लाख नेपालमा ११ लाख ७३ हजार ७२ जना पर्यटक आएका थिए । नेपाल आउनेमध्ये दुई तिहाइ पर्यटक मनोरञ्जनका लागि आएको तथ्यांकले देखाएको छ । यस्तै पदयात्रा र आरोहणको लागि आउने पर्यटक १६ प्रतिशत रहेका छन्, यस्तै तीर्थयात्राको लागि आउने पर्यटक १४ दशमलव ४ प्रतिशत रहेका छन् भने अन्य प्रयोजनका लागि आउने पर्यटकको संख्या ९ दशमलव ६ प्रतिशत रहेको छ ।
सर्वेक्षणले सबैभन्दा धेरै पर्यटक लुम्बिनी पुग्ने गरेको देखाएको छ । सन् २०१७ मा १५ लाख ५२ हजार ५ सय ८६ जना आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । तर सन् २०१८ मा यो संख्यामा २ प्रतिशतले कमी आएको छ ।
लुम्बिनी जानेमध्ये ११ लाख ५५ हजार ५ सय जना नेपाली छन भने १ लाख ९२ हजार भारतीय तथा १ लाख ६९ हजार एक सय ८० जना पर्यटक अन्य देशबाट आएका छन् ।
हिमालबाटै उठ्यो ५८ करोड १५ लाख
सन् २०१८ मा सरकारले हिमाल आरोहणमा जानेहरुबाटै ५८ करोड १५ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । सरकारले ६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहण गर्नेहरुबाट रोयल्टी लिँदै आएको छ ।
सन् २०१८ मा ८ हजार ६ सय ४१ जनाबाट ५८ करोड १५ लाख रुपैयाँ रोयल्टी संकलन भएको आर्थिक सर्वेक्षणले देखाएको छ । यसमध्ये प्रदेश १ का हिमालबाट मात्रै कुल रोयल्टीको ९० प्रतिशत रकम उठ्ने गरेको छ ।
तारे होटल १ सय २९ पुगे, पर्यटकीय स्तरका बेड संख्या झण्डै ४१ हजार
गएको पुससम्म नेपालमा तारे होटलको संख्या १ सय २९ पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । पर्यटकीय स्तरीय होटल लजको संख्या पनि जोड्दा होटलको संख्या ११ सय २५ रहेको छ । नेपालमा ३ सय २४ वटा होम स्टे सञ्चालनमा रहेका छन् ।
सबै प्रकारका होटलका बेड संख्या हेर्दा ४० हजार ८ सय ५६ पुग्ने सर्वेक्षणमा उल्लेख छ । यसमध्ये ११ हजार १ सय ४६ बेड तारे होटलमा रहेका छन् ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।