मेयर र सीडीओको अगुवाईमा मार्सीधानको रोपाइँ (फोटो फिचर)

 जेठ १९, २०७६ आइतबार ९:४९:५६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर नजिकैको फाँटमा शनिबार मेला लागेजस्तै भयो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल सहित जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासिन्दा एकसाथ मार्सी धानको रोपाइँमा सहभागी भएपछि मेला लागेजस्तै भएको हो ।

रोपाइँमा झण्डै ५ सयजनाको सहभागिता थियो । प्रमुख जिल्ला अधिकारी बञ्जाडे, मेयर सेजुवाल सहितका महिलाले धान रोपे भने पुरुषले खेत सम्याउने तथा बीउ फाल्ने काम गरे । झण्डै दुई घण्टासम्म चलेको रोपाइँ हेर्न तथा सहभागी हुन गाउँले भेला भएका थिए ।

चन्दननाथ नगरपालिका, चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाको सहयोग तथा आयोजनामा मार्सी धानको रोपाइँ गरिएको हो ।

मेयर सेजुवालले मार्सी जोगाउने अभियानको लागि रोपाइँ गरिएको बताउनुभयो । इतिहाससँग जोडिएको र यसको बजार पनि राम्रो भएकाले मार्सी धानको उत्पादन बढाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले चन्दननाथ मन्दिरको ५४ हजार क्षेत्रफलमा रोपिने गरेको मार्सीधान केही जग्गा अतिक्रमण भएको र बजारीकरणले रोपाइँ कम भएको भन्दै अब बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले राज्यको अर्थतन्त्र बलियो बनाउन,  ऐतिहासिक महत्व तथा पहिचान दिन र पोषणयुक्त खाद्यान्नको रुपमा मार्सी चामल स्थापित भएको बताउनुभयो । 

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङ्कोट र पानसयमा अहिले धमाधम मार्सी धानको रोपाइँ भैरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो हप्तादेखि धान रोप्न सुरु हुन्छ भने अग्लो ठाउँमा जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा जागरण आएको छ । चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठ महिनाको पहिलो हप्तादेखि नै रोपाइँ सुरु गरी असार पहिलो हप्तासम्म सक्ने गरिन्छ ।

यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया