झाडु लिएर मेयर सडकमा आएपछि स्थानीय पनि सरसफाइमा जुटे

 जेठ १९, २०७६ आइतबार १२:१:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – डिभिजन वन कार्यालय दाङले फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्थापन अभियान थालेको छ । घोराही उपमहानगरपालिका १५ मा सार्वजनिक स्थल, गाउँनगर सरसफाइ कार्यक्रम अन्तर्गत आइतबार बिहान गौतम बुद्ध टोल विकास संस्था मातहतका टोलमा सरसफाइ गरेकाे छ ।

सरसफाइ कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १४ का अध्यक्ष शक्तिराम बस्नेत, उपमहानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख प्रेम केसी, डिभिजन वन कार्यालयका निमित्त प्रमुख धरणीधर चौधरी, कार्यालयका कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी स्थानीयबासीको सहभागिता रहेको थियो ।

 घोराही उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा मेयर नरुलाल चौधरीसहितका पदाधिकारी झाडु लिएर सरसफाइमा जुट्नुभएको थियो । मेयर आफैँ सडक सरफाइमा लागेपछि स्थानीयबासी पनि सरसफाइमा जुटेका थिए । 

सरसफाइका लागि एक सय बाल्टी वितरण

शहरलाई सफा राख्नका लागि डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका १५ को गौतम बुद्ध टोल विकास संस्थालाई एक सय वटा बाल्टी वितरण गरेको छ । फोहर संकलन गर्ने बाल्टीसहित झण्डै ४० हजार बराबरको सरसफाइ उपकरण स्थानीय टोल विकास संस्थालाई वितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत खिमबहादुर केसीले जानकारी दिनुभयो ।

टोल विकास संस्थाका अध्यक्ष मीनराज लम्सालले आफ्नो टोलको फोहोर अरु आएर उठाइदिनुपर्ने प्रवृत्तिको अब अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया