नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
काठमाडौंं – ‘त्यो दिन मलाई अरु केही भएकै थिएन । टाउको दुखेको थिएन । रिंगटा पनि लागेको थिएन । चार तलामाथि काम गर्नुपर्ने थियो । सुरक्षाका लागि लगाउनुपर्ने सेफ्टी बेल्टसँगै सबै कुरा लगाएँ तर हुक गर्न (अड्काउन) बिर्सिएछु । काम गर्दागर्दै चिप्लिएर चार तलाबाट खसें । मेरै गल्ती भयो ।’
यही गल्तीले तिलकलाई सधैंका लागि अपाङ्ग बनाइदियो । खोटाङको सोल्माका तिलक राई २८ वर्षको पुग्नुभयो । उमेरले जवान तिलकलाई पाइला चाल्न लौरोको सहारा चाहिन्छ । बोल्न निक्कै गाह्रो पर्छ ।
कामगर्दा सुरक्षाका लागि बाँधिने सेफ्टी बेल्ट लगाएका तिलक त्यो बेल्ट हुक नगर्दा (नअड्काउँदा) दुर्घटनामा पर्नुभयो । ‘लडेको देख्ने कसैले पनि बाँच्छ भनेका सोचेका थिएनन रे’ तिलकले भन्नुभयो ‘मेरो भाग्य रैछ बाँचे ।’
तिलक दुर्घटनामा परेको खबर घरमा आइपुग्यो । बुढेसकाल लागिसकेका सर्वधनलाई दुर्घटनामा परेको खबरले गलायो । दुर्घटनाको खबरसँगै परिवारको एक जना बहराइन जानुपर्ने खबर आएपछि उहाँले बुहारी गंगालाई पठाइदिनुभयो । बुहारी १० महिना बसेर श्रीमानको स्याहार गरेर गंगा घर फर्किनुभयो ।
तिलकलाई त्यसको केही समयमा कम्पनीले नेपाल पठाइदियो । तर उहाँ ठिक हुनुभएको थिएन । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल भर्ना गरियो । चिकित्सकले उहाँलाई औषधी भन्दापनि एक्सरसाइज (व्यायाम) मा जोड दिए । त्यसले उहाँलाई बहराइनबाट फर्किंदाको भन्दा केही राहत दियो ।
तर हिँड्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । त्यो भन्दा धेरै उपचार सम्भव नभएको भन्दै अस्पतालले व्यायाम नै गर्न सुझाव दिएर घर पठाइदियो । दह्रो ज्यान लिएर कमाउँछु भन्दै गएको छोरो उठ्न बस्नै साहरा चाहिने भएर फर्किंएको दिन सम्झिँदा सर्वधनको बोली अहिले पनि रोकिन्छ ।
केहीमहिना अघि अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणले चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये कार्यस्थलमा दुर्घटनाबाट ४४ जनाको ज्यान गएको देखाउँछ । तिलक पनि कार्यस्थलमै भएको दुर्घटनामा घाइते हुनुभयो ।
सर्वधनले उहाँलाई विदेश नजान आग्रह पनि गर्नुभएको थियो । तर तिलकले मान्नुभएन । विदेश नजान बुवाले गरेको आग्रह नमानेका तिलकले कामगर्दा अपनाउनुपर्ने सुरक्षामा ध्यान दिएको भए यस्तो हुने थिएन भन्ने लागिरहन्छ उहाँको परिवारलाई ।
घरमा बुवासँगै तिलककी श्रीमती गंगा राई अनि दुई जना छोराछोरी छन् । परिवारको जिम्मेवारी लिने बेला अपाङ्ग भएर बस्नु पर्दा तिलकलाई त्यति बेला काम गर्दा सुरक्षामा ध्यान दिएको भए आज यस्तो अवस्था हुने थिएन भन्ने लाग्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।