शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते

 जेठ २०, २०७६ सोमबार १२:१२:५७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेकाे भानु आधारभूत विद्यालयकी शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । 

गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएका हुन् ।

उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरमा रहेकाे सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ भने अन्य ९ जना विद्यार्थीको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेकाले प्लास्टर गरिएको छ । शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको अभिभावक प्रताप घर्तीले बताउनुभयाे । 

विद्यालयमा ढिलोगरी आएको भन्दै आफूहरू लाइन लागेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लठ्ठी प्रहार गरेको पीडित विद्यार्थीहरुको भनाई छ । शिक्षिकाले कुटपिट गर्दा आफूहरु रोइकराई गरेकाे भए पनि अन्य शिक्षकशिक्षिकाहरु छुट्याउन नआई हेरेर बसेकाे विद्यार्थीहरु बताउँछन् ।  

घटना जेठ १२ गते भएकाे भए पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण एक हप्तापछि मात्र बाहिर आएको हो ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय होलेरीमा जेठ १९ गते उजुरी दिएपछि घटना बाहिर आएकाे हाे । विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि उपचारमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया