सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण प्रयास हल्ला मात्र : गृह प्रवक्ता

 जेठ २०, २०७६ सोमबार १६:२९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेको खबर सत्य नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नियमित प्रक्रियाअनुसार सोलुखुम्बुबाट थप सुरक्षा सहायता माग भएकोले त्यो पठाएका हौँ, तर सञ्चार माध्ययममा आएको जस्तो चाहिँ होइन ।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले महाकुलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको सूचना भने पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतिविधि बढेको सूचना पाएपछि त्यहाँ सुरक्षाका लागि थप प्रहरी पठाएको सत्य हो, त्यहाँ प्रहरी जनशक्ति कम भएकोले पठाएका हौँ, गतिविधि बढेको सूचनापछि सुरक्षा सतर्कता अपनाउनु सामान्य प्रक्रिया हो तर चौकी नै आक्रमणको प्रयास चाहिँ भएको छैन ।’ 

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पनि केही दिन अघिदेखि गाउँमा नौला मानिसको गतिविधि बढेको र उनीहरुलाई सोधपुछसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुले नाम्चेतर्फ आवतजावत गर्ने बताएको र केही ठाउँमा विप्लव कार्यकर्ताको पनि गतिविधि बढेकोले सतर्ककता अपनाइएको छ । तर आइतबार राति आक्रमणकै प्रयास भएको चाहिँ होइन ।’

विप्लव कार्यकर्ताको झण्डै ३० जनाको समूह आइतबार राति १२ बजेतिर हतियारसहित प्रहरी चौकीमा पुगेको र आक्रमणको सूचना पाएपछि प्रहरी पहिले नै सुरक्षित स्थानमा गएकोले घटना हुन नपाएको स्थानीय बासीन्दाले बताएका छन् । आज दिउँसो पनि त्यस क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरले गस्ती गरेको स्थानीयको भनाइ छ ।

तर सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रानामगर भने हेलिकप्टर घुम्नु सामान्य प्रक्रिया भएको बताउनुहुन्छ, ‘सोलुखुम्बुमा हेलिकप्टर घुम्नु नयाँ होइन, यहाँ बिरामी आवतजावात वा विभिन्न कामले हेलिकप्टर  आउने जाने गर्छ ।’

स्थानीयमा त्रास

बिहानैदेखि स्थानीयबासीन्दामा भने त्रास फैलिएको छ । ‘सशस्त्र र जनपदको गस्ती, सेनाको हेलिकप्टर घुम्नु, गाउँमा आएका विप्लव कार्यकर्ता सबैतिरबाट हामिले असुरक्षित महसुस गरेका छौँ’, एक स्थानीयले भने । अहिले महाकुलुङ गाउँपालिकामा चहलपहलसमेत कम भएको स्थानीय बासिन्दाको भनाइ छ । सरकारी पक्षले आक्रमण प्रयास भएको पुष्टि नगरे पनि गाउँमा गतिविधि बढेकोले आफूहरुलाई चिन्तित बनाएको उनीहरुको भनाइ छ । 

याे पनि पढ्नुहाेस् 

सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने विप्लव समूहको प्रयास असफल

 

 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया