गण्डकी प्रदेशको नीति तथा कार्यक्रम: फिल्म सिटिदेखि विश्वविद्यालयसम्म बनाइने

 जेठ २४, २०७६ शुक्रबार २०:२०:१ | सुमन गुरुङ
unn.prixa.net

कास्की - गण्डकी प्रदेशले शुक्रबार आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशले पर्यटन, उर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धिको प्रमुख आधार मानेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने, कृषिमा आत्मनिर्भर हुने, पोखरा चक्रपथ र उत्तर दक्षिण कोरिडोर निर्माणलाई प्राथमिकताका साथ अघि सारिएको छ ।

गण्डकी प्रदेश सरकारले अर्को वर्ष एक घर एक सदस्य हुने गरी सहकारी संस्थाको विस्तार गर्ने नीति लिएको छ । मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई फिल्म सिटी र स्याउ पकेट क्षेत्र बनाउने, पोखरा–काठमाण्डौ–लुम्बिनीलाई गौतम बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गरिने नीति तथा कार्यक्रम पनि समावेश गरिएको छ ।

पर्यटनबाटै प्रदेशको समृद्धि हासिल हुने उद्घोषसहित सरकारले पदमार्ग, सडकमार्ग र हवाइमार्गको स्तरोन्नति गर्ने नीति अवलम्बन गरेको छ ।

प्रत्येक स्थानीय तहका औद्योगिक क्षेत्र स्थापना, एक स्थानीय तह एक उत्पादन, गण्डकी विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य छ । प्रदेशका सबै घरमा धारा पुर्‍याउने, दुई वर्षमा आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल बनाइसक्ने योजना पनि अगाडि सारेको छ ।

अहिलेको नीति तथा कार्यक्रमका बारेमा प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पुरानै नीति कार्यक्रममा भाषिक हेरफेर गरेको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको कार्यक्रम बढी व्यवहारिक भएकोले सबै कार्यान्वयन हुनेगरी बजेट विनियोजन हुने बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया