तीन भारतीय तीर्थयात्रीको मृत्यु

 असार २१, २०७५ बिहीबार ६:५४:४३ | रासस
unn.prixa.net

सुर्खेत – मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । 

यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिनुभयो । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं. एम.०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेको र उनको मृत्यु चीनको डोरपाकमा भएको प्रहरी नायब निरीक्षक चन्दले बताउनुभयो । 

उहाँका अनुसार मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी उनको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ । 

त्यस्तै, असार १८ गते भारत केरला लम्किड निवासी पासपोर्ट नं. एल.५४८६५९५ का ५६ वर्षीया महिला लीलानारायण म्याण्डेथको सिमकोटमा मृत्यु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उनलाई शवपरीक्षणका लागि १९ गते सिम्रिक हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौँ लगिएको छ । 

सोही दिन अर्का तीर्थयात्री भारत आन्द्र प्रदेश काकीनाडा निवासी पासपोर्ट नं. आर.९३२७८६७ का ५७ वर्षीय पुरुष सत्यालक्ष्मी नारायण (सुब्बा, राओ ग्राण्डी भेरा भेनका) को ताक्लाकोटमा मृत्यु भएको थियो । उनलाई पनि मंगलबार नेपालगन्ज हुँदै भारत लगिएको उहाँले जनाउनुभयो । 

हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बाहिर सञ्चारमाध्यममा आएजस्तो तीर्थयात्री कोही पनि अलपत्र नपरेको बताउनुभयो । मौसम बिग्रेर हवाई यातायात सेवामा अवरोध भएकाले सिमकोटमा तीर्थयात्रीहरु बस्नु परेको र सबै सकुशल फर्किरहेको उहाँले जनाउनुभयो । वैशाख–जेठदेखि शुरु हुने तीर्थयात्रामा आठ जना तीर्थयात्रीको हिँड्ने क्रममा मृत्यु भएको उहाँको भनाइ छ । 

उहाँका अनुसार आजभोलि पनि भारतीय तीर्थयात्रीहरु आउने–जाने क्रम निरन्तर चलिरहेको छ । मानसरोवर कैलाश समुद्री सतहबाट चार हजारदेखि चार हजार ५०० मिटर उचाइमा रहेकाले विशेषगरी लेक लागेर तीर्थयात्रीको मृत्यु हुने गरेको बताइएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया