कोरियन भाषा परीक्षा : अरुको नाममा जाँच दिने ४७ जना पक्राउ

 जेठ २५, २०७६ शनिबार १९:५७:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ - कोरियन भाषा परीक्षामा अनियमितता गर्ने ४७ जना परीक्षार्थी पक्राउ परेका छन् ।

अरुको नाममा परीक्षा दिन पुगेका ४७ जना पक्राउ परेका ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका परीक्षार्थीले आउँदो तीन वर्षसम्म परीक्षा दिन नपाउने र प्रहरीले सार्वजनिक मुद्दा चलाउने उहाँले बताउनुभयो । 

४७ जनै ललितपुर र काठमाण्डौका परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् । भण्डारीले अरुको नाममा परीक्षा दिने काम नगर्न सबै परीक्षार्थीलाई आग्रह पनि गर्नुभएको छ । भोलि आइतबार पनि दुई सिफ्टमा परीक्षा हुने र परीक्षामा कसैले पनि यस्तो कार्य नगर्न उहाँको अनुरोध छ । 

यस्तै आज ४ हजार ३७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । आवेदन दिनेमध्ये आज शनिबार ४६ हजार १ सय ९६ जना परीक्षार्थी सहभागी हुनुपर्ने थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया