हावाहुरी पीडितले दुई हप्ता बित्दा पनि पाएनन् राहत

 असार ५, २०७६ बिहिबार १८:५७:३० | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलाली र कञ्चनपुरमा हावाहुरी आएको दुई साता बित्दा पनि पीडितले राहत पाउन सकेका छैनन् । 

हावाहुरीले करोडौँको क्षति गरेको दुई साता बिते पनि प्रदेश र स्थानीय सरकारले घोषणा गरेको राहत पीडितको हातमा पुग्न सकेको छैन । राहतको घोषणा गर्नमै ढिलाइ गरेका प्रदेश र स्थानीय सरकारले पीडितलाई दुई हप्तासम्म राहत हस्तान्तरण नगरेका हुन् ।

हावाहुरीमा सबैभन्दा बढी प्रभावित क्षेत्र धनगढी उप-महानगरपालिकाले राहतको घोषणा एक सातापछि गरे पनि हालसम्म वितरण गरेको छैन । पूर्ण क्षति भएका घरधनीलाई ६ हजार, मध्यम क्षति भएकोलाई ३ हजार, पशुपंक्षीमा भएको क्षतिलाई ३ हजार र व्यावसायिक खेतीलाई ३ हजार राहत सहयोग गर्ने उप-महानगरपालिकाले निर्णय गरेको थियो ।

पूर्ण रुपमा घरमा क्षति पुगेको घरका ९० दिन भित्रका सुत्केरी महिलालाई १ हजार पाँच सय रुपैयाँ सहयोग गर्ने र हावाहुरीमा परेर घाइते भएकाहरुको उपचार खर्च उप-महानगरपालिकाले व्यहोर्ने निर्णय गरिएको थियो । तर अहिलेसम्म घाइतेले उपचार खर्च र राहत रकम नपाएको गुनासो गरेका छन् । धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लगत संकलनको काम नसकिएकाले राहत वितरण नगरिएको बताउनुभयो ।

सुदूर पश्चिम प्रदेश सरकारले हावाहुरीमा परि ज्यान गुमाएका परिवारलाई डेढ लाख, पूर्ण घर क्षति भएका परिवारलाई २० हजार र आशिंक घर क्षति भएकालाई १० हजार राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले पनि सरकारले घाइतेहरुको उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । तर प्रदेश सरकारको राहत पनि पीडितले अझै पाएका छैनन् ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्थ मन्त्रालयसँग निकासाका लागि लेखेर पठाएको बताउँदै बजेट निकासा भएपछि वितरण गरिने जानकारी दिनुभयो । प्रदेश सरकारको कानुन मन्त्रालयले राहतका लागि अर्थ मन्त्रालयलाई साढे ५ करोड माग गरेको जनाएको छ ।

रकम प्राप्त भएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हावाहुरी पीडितलाई राहत वितरण गरिने छ । प्रदेश सरकारसँग राहत वितरणका लागि संयन्त्र नभएको भन्दै जिल्ला प्रशासन हुदै स्थानीय तहको वडाहरुमा बजेट जानेछ ।  

गएको जेठ २३ गते साँझतिर कैलाली-कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीका कारण दुई जिल्लामा तीन हजार बढी घरमा पूर्ण क्षति र ८ हजार बढी घरमा आशिंक क्षति भएको थियो । तर प्रदेश र स्थानीय सरकारले घोषणा गरेको राहत भने पीडितले अझै नपाएका हुन् ।

घरको छानो उडाएका, घरको खाद्यान्न भिजेका कारण पीडित वर्षातको समय सुरु हुने र पुनः पानीले दुःख दिने भन्दै चिन्तित छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया