विश्वकप फुटबल : छैटौँ तारा थप्ने र पहिलो तारा छाप्ने योजना

 असार २२, २०७५ शुक्रबार ११:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको सेमिफाइनल प्रवेशका लागि शुक्रबार राति विश्व फुटबलको महारथी ब्राजिल र बेल्जियम खेल्दैछन् । पाँच पटकको विश्वविजेता ब्राजिल जर्सीमा अर्को अर्थात छैटौं तारा थप्ने ध्याउन्नमा छ भने बेल्जियम पहिलो तारा अंकित गर्ने योजनामा । 

दुवै टिम क्लब फुटबलका हस्तीहरुले भरिएका छन् । यद्यपी, ब्राजिल मुख्यगरि नेइमारको प्रेरणामा छ भने चेल्सीका प्लेमेकर इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्नेछन् ।

ब्रजिलसँग नेइमार मात्र होइन गाव्रियल जेसस, फिलिप कोटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो सिल्भा लगायका विश्वस्तरीय खेलाडीको पल्टनै छ । बेल्जियममा हाजार्डसँगै रोमेलु लुकाकु, मराउन फेलानी, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिज जस्ता खेलाडीको ताँती छ । विश्लेषकहरु भन्छन् सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको बेल्जियम यसपटक उपाधि जित्ने बलियो सम्भावना बोकेर रसिया पुगेको हो । समूह चरणमा उसको प्रदर्शनले त्यो पुष्टि पनि गरेको छ । 

यो बेल्जियम फुटबलको गोल्डेन जेनेरेशन हो । र, यो सुनौलो पुस्ता बेल्जियमलाई पहिलो विश्वकप उपाधि दिलाउने अभियानमा छ । सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन ।  जापानसँगको अन्तिम १६ को खेलमा २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–२ को जित निकालेको बेल्जियमले जुनबेला पनि खेलमा फर्किनसक्ने ल्याकत राख्छ । तर ब्राजिलको डिफेन्सको पर्खाल तोड्नु उसका लागि फलामै च्युरा चपाउनु सरह बन्नेछ । 

सन् १९९० यता कम्तिमा पनि विश्वकपको क्वार्टरफाइनलमा पुगेको ब्राजिलले समूह चरणमा नाम चलेका धेरै टिम घर फर्किदा पनि आफूलाई उपाधिको दावेदारका रुपमा पुष्टि गरिरहेको छ । प्रशिक्षक टिटेको रणनीतिले काम गरिरहेको र उनले टीमलाई उपाधि दिलाएरै फर्किने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । 
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्राजिलसँगको क्वार्टरफाइनल खेलमा ‘पावर गेम’को आवश्यकता पर्ने स्वीकार गरेका छन् । त्यसैले फेलानीलाई सुरुआती टोलीमा राख्ने सम्भावना छ । 
 
जापानसँग २–० ले पछि परेको स्थितिमा फेलानी र चाड्ली ६५औं मिनेटमा मैदान प्रवेश गरेपछि बेल्जियमको खेल सुधारिएको थियो । उनीहरुले ड्राइज मार्टिन्स र यान्निक कारास्कोलाई प्रतिस्थापन गरेका थिए । दुवै सब्सिच्युडले गोल गर्न सकेपछि मार्टिन्सको ‘प्लान बी’ सफल भएको थियो ।

 ‘एक प्रशिक्षकका रुपमा मसँग धेरै बिकल्पहरु छन्, र त्यसलाई कतिबेला प्रयोग गर्ने मलाई थाहा छ ।’ प्रशिक्षक मार्टिनेजले भने, ‘हामी बढी फिजिकल हुनुपर्नेछ । तथा, सोमबारकै मानसिकतामा खेल्यौं भने हामी जित्न सक्छौं । हाम्रा अगाडि ठूलो अवसर छ ।’ ब्राजिलसँगको खेल हाम्रा खेलाडीका लागि एउटा सपनाको खेल हो । उनले थपेका छन् । 
 
मेक्सिकोलाई हराउँदा ब्राजिलले कमाण्डिङ र रचनात्मक फुटबल पस्कँदै तुफानको रुपमा अघि बढेको विश्लेषण पनि भइरहेको छ । ब्राजिलका चम्किला तारा नेइमार लयमा रहेपनि अझै उनले आफ्नो भएजति क्षमताको उपयोग गर्न नसकिरहेका समर्थकको भनाई छ । संसारकै सबैभन्दा महंगा फुटबलर नेइमार रेफ्रीको निर्णयलाई प्रभाव पार्न मैदानमा अस्वाभाविक नाटक गर्ने गरेको कारण पनि आलोचनाको चुचुरोमा छन् । तर,ब्राजिलका अघिल्लो पुस्ताका एक सशक्त खेलाडी रिभाल्डोले आलोचनालाई एउटा कुनामा थन्क्याएर नेइमारले जस्तो खेलिरहेका छन् त्यस्तैलाई निरन्तरता दिन सुझाव दिएका छन् । किनकि नेइमारजस्तो रचनात्मक स्ट्राइकरलाई झेल्न बेल्जियमलाई पक्कै सहज हुनेछैन ।
 
रिभाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा लेखेका छन्, ‘नेइमार, तिमी हमेसा जस्तो खेल्छौ त्यस्तै खेलिराख । अन्य देशबाट आएका नकारात्मक टिप्पणीको वास्ता नगर किनभने उनीहरु विश्वकपमा छैनन् ।’  
‘यदि तिमीलाई ड्रिबलिङ गर्न मन लाग्यो त गर, यदि तिमीलाई फ्लिक गर्नुछ भने गर, तिमीले गोल गर्नुछ भने यस्तो गर्नैपर्छ । तर, तिमीलाई कसैले फल गरेर लडायो भने लड ।’ ‘यसअघिका खेलमा जस्तै माथि उठ्नु , र हमेशा फुटबलका साथ मजाक गर्ने बानी जारी राख्नु ।’
 
ब्राजिल आज डिफेन्सिभ मिडफिल्डर कासिमिरो बिना मैदानमा उत्रँदैछ । उनी दुई पहेँलो कार्डका कारण एक खेल गुमाउनेछन् । त्यस्तै चोटका कारण डग्लास कोष्टाको उपस्थितिमा पनि सन्देह छ ।

प्लेयर्स टू वाच
 
नेइमार, ब्राजिल

स्वभाविक रुपमा यदि नेइमारले राम्रो खेले भने अवश्य पनि ब्राजिलले राम्रो प्रदर्शन गर्नेछ । पेरिस सेन्ट जर्मेनका शशक्त स्ट्राइकर शानदार स्टार हुन् । मेक्सिकोबिरुद्धको खेलमा उनले आफ्नो लय सही तरिकाबाट पहिल्याएका थिए । निःसन्देह उनी ब्राजिललाई एक अर्को चरणमा पुर्याउनका लागि उत्सुक छन् र उनी बेल्जियमलाई ध्वस्त पार्ने क्षमता राख्छन् ।

केभिन डि ब्रुयेन, बेल्जियम

हुन त मार्टिनेजले ब्राजिलबिरुद्धको खेलमा ‘पावर गेम’को कुरा गरेका छन् । तर, यो पनि याद राख्नुपर्छ कि उनीसँग संसारकै सबैभन्दा निर्णायक मिडफिल्डर छन् । जापानबिरुद्धको सनसनीपूर्ण जितमा ब्रुयेनले डीपमा पुगेर खेलेका थिए जुन रणनीति सफल भएको थियो । कासिमेरो बाहिर रहेपछि ब्राजिलको सेन्ट्रल एरियाको कमजोरीको फाइदा ब्रुयेनले उठाउन सक्छन् ।

म्याच फ्याक्ट्स

– ब्राजिल लगातार सातौं विश्वकप क्वार्टरफाइनल खेल्दैछ । र, उनीहरु सन् २००६ मा फ्रान्स र २०१० मा नेदरल्याण्डसँग गरी २ पटकमात्र पराजित भएका छन् । 
 
– ब्राजिल पछिल्ला तीन विश्वकपमा युरोपेली टोलीबाट नकआउट भएको छ । सन् २००६ मा फ्रान्स, सन् २०१० मा नेदरल्याण्ड्स र सन् २०१४ मा जर्मनी ।
 
– रोवर्टो मार्टिनेजको प्रशिक्षणमा इडेन हाजार्ड बेल्जियमको पछिल्लो १८ खेलका १९ गोलमा प्रत्यक्ष सहभागी छन् । उनले १० गोल गरेका छन् भने ९ गोलका लागि अवसर सृजना गरेका छन् ।  

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया