‘विप्लव’ समूहका सर्लाही इञ्चार्ज कुमार पाैडेलकाे नियन्त्रणमा लिएर हत्या गरिएको परिवारकाे दावी

 असार ६, २०७६ शुक्रबार १९:१७:२२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको नियन्त्रणपछि हत्या भएको परिवारले दावी गरेका छन्।

बिहिबार दिउँसो सर्लाहीको लालबन्दीबाट काम सकेर सिन्धुली जाँदै गरेका बेला बाटोमा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको पाैडेलका बाबु खिलराज पौडेलले दावी गर्नुभयो। उहाँले भन्नुभयाे, ‘देशमा अहिले मान्छे मार्न पाउने कानुन बनेको छ ? नत्र मेरो छोरालाई प्रहरीले समातेर किन मारेको हो, त्यसको सत्यतथ्य छानबिन हुनुपर्छ,गल्ती गर्नेलाइ कानुन अनुसारको कारबाही हुनुपर्छ, तर मार्न पाइँदैन।’

उहाँले छोराको मृत्युबारे अहिलेसम्म प्रसाशनले कुनै जानकारी नदिएको भन्दै घटनास्थलतर्फ जाँदै गर्दा नवलपुरामा प्रहरीले जान रोकेपछि आफू फर्केर घर आएको उहाँले बताउनुभयो।

बिहीबार दिउँसो सादा पोसाकमा खटिएका प्रहरीले घटनास्थलमा सर्वसाधारणलाई समेत जान नदिएको स्थानीयको भनाइ छ । सर्लाहीको लालबन्दी नगरपालिका-१, चन्द्रपुर जंगलमा बिहीबार दिउँसो प्रहरीसँगको दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दावी गरेको छ।

स्थानीयले भने दिउँसो पाैने दुई बजेतिरको घटना भए पनि आफूहरुले दुई घण्टापछि थाहा पाएकाे र जंगलमा दिउँसो दोहोरो गोली हानाहानको आवज नसुनेको बताएका छन्।

बाटोमा बसेका ४/५ जना मान्छेले आफूहरुलाई जंगल नजानु भनेर रोकेको गाेठालाहरुले बताएका छन् ।मृतक पौडेललाइ टाउको र हातमा दुइ गोली लागेको र दुबै हात भाँच्चिएको बताइएकाे छ।

स्थानीय बासिन्दाहरुले पौडेललाइ समातेर गोली हानेको दावी गर्दै त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् । मृतक पौडेलका १२ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छन् । स्थायी घर बागमती नगरपालिका-२ धरहरा भएका पौडेल नेपाली कांग्रेस हुँदै नेकपा एमाले, माओवादी हुँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवेश गर्नुभएकाे हाे ।

विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गर्दै सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिबाट लिने  चेतावनी दिएको छ। यो घटनाको सर्लाहीका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र अन्य राजनीतिक दलका नेता तथा अगुवाहरुले समेत निन्दा गरेका छन्।

 

अन्तिम अपडेट: चैत २८, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया