एउटै म्यानपावरविरुद्ध जेठ महिनामा मात्रै ३१ वटा उजुरी

 असार ७, २०७६ शनिबार ११:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक महिनाको समयमा एक म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा ३१ वटा उजुरी परेका छन् । काठमाण्डौको गौशलामा रहेको पर्पल एचआर सर्भिस प्राली विरुद्ध जेठ महिनामा मात्रै ३१ वटा उजुरी विभागमा दर्ता भएका छन् । 

जेठको महिनामा ५७ वटा मेनपावरविरुद्ध परेका ११० उजुरीमध्ये ३१ उजुरी पर्पल एचआर सर्भिस प्रालीविरुद्ध परेको छ । उजुरीकै आधारमा अहिले यो म्यानपावरलाई विभागले  कारोबार पनि बन्द गरेको छ । अथवा यो म्यानपावर निष्क्रिय अवस्थामा छ । म्यानपावरले समस्या समाधान गरेपछि मात्रै कारोबार गर्न पाउछ ।

वैदेशिक रोजगारीको काम गर्ने क्रममा उसले गलत काम गरेर वा भनेको काम गर्न नसक्दा त्यो काम नबनेसम्मको लागि वैदेशिक रोजगार विभागले काम गर्न नपाउने गरी म्यानपावरलाई निष्कृय रुपमा राख्छ । तर उसले आफू विरुद्धपरेका उजुरी लगायत सबै कुराको फरफारक गरेपछि भने विभागले कारोबार गर्न पाउने अनुमति दिन्छ । 

पोल्याण्डका नाममा उजुरी धेरै

जेठ महिनामा यूरोपियन देशका नाममा उजुरी धेरै परेको छ । नेपाली कामदारको मुख्या गन्तव्य देश खाडी भए पनि देशगत आधारमा सबैभन्दा बढी उजुरी पोल्याण्डका नाममा आएको विभागको तथ्याँक छ । 

पोल्याण्डको नाममा व्यक्तिगत ५ र संस्थागत ३४ गरी ३९ वटा उजुरी परेका छन् ।  यस्तै क्यानडाका नाममा व्यक्तिगत रुपमा १९ वटा उजुरी परेका छन् ।
पछिल्लो समय युवाहरुको आकर्षण युरोप देशतिर बढेसँगै ती देशहरु पठाउने भन्दै म्यानपावरको ठगी पनि बढ्दो छ । 

यो ठगी युरोपेली देशभन्दा खाडी देशमा तुलनात्मक रुपमा कम भए पनि रोकिएको छैन । जेठ महिनामा मात्र कतारको नाममा २ वटा व्यक्तिगत र २५ वटा संस्थागत गरी २७ वटा उजुरी परेका छन् भने यूएईको नाममा ६ वटा व्यक्तिगत र १९ वटा संस्थागत गरी २५ वटा उजुरी परेका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया