प्रहरी ‘इन्काउन्टर’मा मारिएका ‘विप्लव’का सर्लाही इन्चार्ज कुमार पाैडेलकाे शव परिवारले बुझे, आजै अन्त्येष्टि

 असार ७, २०७६ शनिबार २०:४८:८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका नेत्रबिक्रम चन्द नेतृत्वका सर्लाही इन्चार्ज कुमार पौडेलको शव परिवारले तीन दिनपछि बुझेका छन् ।

बिहीबार दिउँसो प्रहरीको गोलीबाट मारिएका पौडेलको शव तीन दिनपछि शनिबार दिउँसाे जिल्ला अस्पताल मलंगवाबाट उहाँका भाइ हरिकृष्ण पौडेल र दिदी लक्ष्मी पौडेलले बुझ्नुभएको हो।

सर्लाहीको लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा लखन्देही नदीमा प्रहरीले हानेको गोली लागेर उहाँको ज्यान गएको थियो। सर्लाही प्रहरीले भने जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको दावी गरेको छ। पौडेलको मृत्यु थप रहस्यमय बन्दै गएको स्थानीयले बताएका छन्।

शनिबार दिउँसो परिवाले शव बुझ्दा मृतकको हात दुई ठाउमा भाँच्चिएको र निलडाम देखिएकाले दाइको नियन्त्रणपछि प्रहरीले हत्या गरेको भाइ हरिकृष्ण पौडेलले आराेप लगाउनुभयो। उहाँले भन्नुभयो, दोहोरो गोली हानाहान मरेको भएको भए दाइको हात किन भाँच्चियो ? घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, राज्य आतंक धेरै भयो, खोइ देशमा कानुनी राज्य?

सर्लाही अस्पतालमा दाइको शव बुझ्दै हरिकृष्णले सहयोगका लागि मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजसँग आग्रह गर्नुभयो। शव प्रहरीको एस्कर्टिङमा मलंगवाबाट हरिवन ल्याइएको थियो।

दिउँसो शवलाइ उहाँको घर बागमती नगरपालिका-२, धरहराबाट बागमती नदीमा लगेर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरियाे।

४७ वर्षका पौडेलका श्रीमती १४ बर्षिय छोरी र १० वर्षीय छोरा छन्। सरकारी सेवामा रहेका उहाँ जागिर छोडेर राजनितिमा लाग्नुभएकाे थियाे। नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभएका पौडेल एमाले, चुरेभावर, नेकपा माओवादी हुँदै नेकपा विप्लवको जिल्ला इन्चार्ज बन्नुभएको थियो।

पीडित परिवरले शनिबार दिउँसो जिल्ला प्रसाशन कार्यालयमा शव बझ्नुअघि दोषीलाई कारबाही गरिनु पर्ने, घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्ने, शहीद घोषणा गर्नुपर्ने, परिवारले क्षतिपूर्ति पाउनुपर्ने र छोरा छोरीको पालनपोषणको ग्यारेन्टी गरिदिनु पर्ने माग राखेका थिए।

राजनीतिक पूर्वाग्रहका कारण प्रशासनलाइ किनेर सुनियोजित तरिकाले भाइको हत्या गरेकाले नाम किटानीसहित न्यायको खोजीमा जाने दिदी लक्ष्मीको भनाइ छ। 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया