यूएईमा महिनाको ७० हजार कमाउने समिरको सुझाव – सीपमुलक काम गर्नुहोस्

 असार ८, २०७६ आइतबार १८:१०:४४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – मध्यानको १२ बजे । घाम भतभती पोल्ने लागेको थियो । पोल्ने घामको वेवास्ता गर्दै  वैदेशिक रोजगार विभागको तेस्राे तलामा बसिरहनुभएको थियो समिर गुरुङ । एक हातमा हरियो पासपोर्ट । अर्को हातमा टिलिक्क टल्किने घडी । 

घरी घडी हेर्नुहुन्थ्यो त घरी विभागको कोठा भित्र । छटपटीमा देखिनुहुन्थ्यो समिर ।

विभागमा मानिसको भिडभाड थियो । भिडमा आफ्नो पालो कुरिहनुभएको रहेछ समिर । ‘पासपोर्टको कोर्ड नम्बर सच्याउन आएको, खै कुनबेला पालो आउने हो’ सोधीखोजी गर्नेबित्तिकैे भन्नुभयो । 

१० वर्षदेखि दुबईमा सेक्युरिटीको काम गर्दै आउनुभएका ३६ वर्षीय समिर एक महिनाको बिदामा घर आउनुभएको हो । पुनः श्रम स्वीकृति लिने बेला विभागका कर्मचारीले पासपोर्टको कोड नम्बर रजिष्ट्रर भएन भन्दै सच्याउन सुझाव दिए ।  कोड नम्बर सच्याउन उहाँ विभागको कार्यालय पुग्नुभएको थियो ।

पासपोर्टको नम्बर सच्याउन विभाग गएजस्तै समिरलाई कहिलेकाही लाग्छ – ‘आफू हिँडिरहेको बाटो पनि सच्याइदिउ ।’ तर बाटो बदले पनि भाग्य र भविष्य बदल्न सकिदैन । यही सोचेर चित्त बुझाउनुहुन्छ । यदी सकिन्थ्यो भने त साइन्स पढ्दा पढदै किन यूएई पुग्नुहुन्थ्यो होला र ? 

पढाई छाडेर विदेश जाने सोच

समिरको काठमाण्डौको बालाजुमा घर थियो । आईएस्सी पढ्दै हुनुहुन्थ्यो । तर उहाँलाई तान्यो खाडीले । पढाइ नै छाडेर लाग्नुभयो परदेश । कुरा २०६६ सालको हो । उहाँ यूएईमा सेक्युरिटीको काम गर्न पुग्नुभएको थियो ।

हुन त राम्रोसँग पढ्न सकेको भए समिरको बाटो अहिले विदेशको भन्दा फरक पनि हुन सक्थ्यो होला । तर परीक्षामा पास नभएपछि उहाँको विदेशको बाटो तय भएको थियो । 

‘पढाइ सोचेजस्तो भएन, जसोतसो १२ को परीक्षा त दिएँ तर सबै विषय कटेनन्’, उहाँले भन्नुभयो, ‘सधैँ व्याकपेपरको परीक्षा दिइरहन मन लागेन, बरु विदेश नै गएर कमाउछु भनेर उतै लागियाे ।’

विदेश जाने बेलामा के काम गर्ने र कुन देश जाने भनेर निणर्य गर्न पनि समय लागेन समिरलाई । हट्टाकट्टा ज्यान । कलेज पढ्न छाडेर लाहुरे बन्ने सोचेको भए सायद उहाँ लाहुरे पनि हुनुहुन्थ्यो होला ।

तर लाहुरे नभएर समिरको ज्यानले यूएईमा सेक्युरिटीको काममा जाने पक्का भयो । ज्यानले नै उहाँ जाने देश र कामको टुङ्गो लगायो । 

पढ्न नसकेपछि समिरले देखेको कमाइको बाटो विदेश थियो । तर परिवार चटक्कै छाडेर परदेश लाग्न त्यती सजिलो कहाँ छ र । भर्खर बिहे भएको थियो । उमेर पनि २६ वर्षको मात्रै । तर मायाले परदेशको बाटो छेक्न सकेन । 

‘भर्खरै बिहे भएको थियो, श्रीमतीलाई छाडेर विदेश जान रहर त थिएन’ विदेश जाँदाका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, ‘विदेशमै जानुपर्ने बाध्यता त थिएन, तर पनि त्यसै हल्लिएर बस्नुभन्दा विदेश जानै ठिक लाग्यो ।’

वि.सं. २०६६ सालतिर दुई लाख रुपैयाँ तिरेर समिर यूएई उड्नुभयो । काम र कमाइ भनेअनुसार नै मिल्यो । सेक्युरिटीको कामका लागि जानुभएका समिरले त्यही काम पाउनुभयो ।

यूएईमा सेक्युरिटी गर्दा गर्दै समिरकाे १० वर्ष बितिसक्यो । याे छैटौं पटक हो, उहाँ घर विदामा नेपाल आएको  । एक महिनाको विदामा आउनु भएका समिर केही दिनमा यूएई फर्किनुहुनेछ । 

परदेश बसेको लामो समय भयो । बिहे गर्ने वित्तिकै परदेशी बन्नुभएका समिरका छोराछोरी पनि ठूला भइसके अहिले त । तर पनि उहाँलाई परदेशको कमाइले तानेकै छ । 

परिवार र छोराछोरी सम्झदा गाह्रो नहुने त कहाँ हो र । तर बालबच्चासँगै जिम्मेवारी बढ्छ । अहिले उहाँलाई छोराछोरीको मायालाई उनीहरुको भविष्यको चिन्ताले जित्छ । 

‘दुवै छोराछोरी म विदेशमा भएको बेला जन्मेका हुन्, जन्मेको एक वर्षपछि मात्र देख्न पाएँ’ उहाँ त्यो क्षण सम्झदै भन्नुहुन्छ, ‘एक वर्षसम्म देख्न नपाउदा गाह्रो हुन्थ्यो नि ।’

महिनामा ७० हजार कमाइ

समीरको अहिलेको मासिक तलब नेपाली ७० हजार रुपैयाँ छ । सबै खर्च कटाएर ५० हजार रुपैयाँ जोगिन्छ । बचेको पैसा हरेक महिना घरमा पठाउनुहुन्छ । 
‘ठ्याक्कै त कति कमाइयो थाहा भएन । तर काठमाण्डौमै १२ आना जग्गा जोडेको छु, चोखो कमाइ भनेको त्यही हो’ उहाँले गर्वका साथ भन्नुभयो ।

घर खर्च चलाउनदेखि छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउनसम्म कति खर्च लाग्यो त्यसको कुनै हिसाब छैन उहाँसँग । तर जे जति कमाए पनि आफ्नो कमाइसँग सन्तुष्ट हुनुहुन्छ । भन्नुहुन्छ, ‘नेपालमै बसेको भए यति कहाँ कमाउन सकिन्थ्यो होला र ? यो सबै उतै गएर सम्भव भएको हो ।’

समीर एक महिनाको बसाइ सकेर फेरि यूएई फर्किदै हुनुहुन्छ । अब चार, पाँच वर्ष मात्र उता बस्ने सोच्नुभएको छ । 

‘अहिले ३६ वर्षको भएँ, चालिस कटेपछि स्वदेश फर्कौंला अनि रमाउँला’ हेमन्त रानाको गीत सम्झेर हाँस्दै उहाँले भन्नुभयो ।

विदेशमा सीपमुलक काम गर्दा राम्रो

समीर अहिले ‘पीएसपीडी सेक्युरिटी’मा काम गर्नुहुन्छ । उहाँले विदेशमा जति काम गर्नुभयो, सुरक्षागार्डको मात्र गर्नुभयो । त्योबाहेक अरु कुनै पनि काम गर्न त्यतिबेला मन लागेन । अहिले उहाँलाई पछुतो लागिरहेको छ ।

‘नेपाल फर्केपछि केही गरौँ भने पनि केही सिप सिकेको छैन’ उहाँ भन्नुहुन्छ, ‘सुरक्षागार्डको काम मात्र गरियो, होटल लाइनतिर वा अरु कम्पनीतिर गरेको भए धेरै सिकिन्थ्यो कि ?’

‘निर्माणका अरु कामभन्दा सेक्युरेटीको काम सुरक्षित भए पनि यसले आफूलाई ‘डल’ बनाउँदो रहेछ’ उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
उहाँ विदेश जाने युवाहरुलाई सके योग्यताअनुसारकै काम खोज्न, नभए सिपमुलक काम सिक्न आग्रह गर्नुहुन्छ । 

‘सेक्युरेटीको काममा कुनै सिकाइ नहुने उल्टै दिमाग बोदो हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘केही नयाँ गर्छु भन्ने युवाहरुले उत्पादनमुलक तथा आविष्कारमुलक काममा हात हाल्नुपर्छ ।’
 

अन्तिम अपडेट: कात्तिक २२, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया